वैदेशिक रोजगारीले भताभुङ्ग परिवारको कथा ‘वन रुँदा न्याउला’

-तुलसी गिरी ‘भावुक’


सुदूरपश्चिमका गहना सुरेश शाहीको सङ्गीत, सङ्गीत संयोजन र स्वरमा रहेको गीत वन रुँदा न्याउला को भिडिओ सार्वजनिक भएको छ l वियोगान्त भावमा रहेको ठाडी भाकाको यो गीत नेत्र सिंह ठकुरीले रचना गरेका हुन् l महेश महराको सिनेम्याटोग्राफी र वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादनमा भिडिओ निर्माण भएको हो l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडिओमा लोकेश भाटले सह-सम्पादकको जिम्मेवारी पूरा गरेका छन् l

सुदूरपश्चिमको बोलीचालीको भाषामा रहेको यस गीतको भिडिओमा कमल सिंह, कल्पना बीसी र गोविन्द भण्डारीले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओमा गीतका सङ्गीतकार / गायक सुरेश शाहीलाई पनि महत्वपूर्ण भूमिकामा देख्न सकिन्छ l

वैदेशिक रोजगारीले निम्त्याएको नेपाली समाज र परिवारको तीतो यथार्थ बोकेको यस भिडिओमा लामो समयपछि परदेशबाट घर फर्किएको एउटा युवकको मार्मिक कथा प्रस्तुत गरिएको छ l हजारौं सपना बोकेर परदेश गएको युवक गाउँ फर्कंदा घरमा ताला लाएर उसकी प्रियतमा अर्कैसँग डाँडा काटिसकेकी हुन्छे l गीतमा युवकको यही पीडालाई हृदयविदारक ढङ्गमा पोखिएको छ l