– विमल गिरी (बिर्तामोड- २, चारपाने, झापा। हाल: बेल्जियम, ब्रसेल्स)
अरुण थापाको जीवनमा प्रेम एउटा सुन्दर सुरुवात भएर आयो, तर अन्ततः त्यही प्रेम उनको स्वरको सबैभन्दा गहिरो पीडाको स्रोत बन्यो। सायद कलाकारको हृदय साधारण मानिसको भन्दा अलि फरक हुन्छ। जहाँ अरू मानिसहरू दुःखलाई बिर्सन खोज्छन्, कलाकार त्यही दुःखलाई आफ्नो सिर्जनाको उज्यालो बनाउँछ। अरुणले पनि त्यही गरे। उनले आफ्ना आँसुहरू लुकाएनन्, तिनलाई गीत बनाए। उनले आफ्नो एक्लोपनलाई बोझ बनाएनन्, त्यसलाई नेपाली सङ्गीतको अमूल्य सम्पत्ति बनाए।
वि.सं. २०३२ सालमा रेडियो नेपालको स्वरपरीक्षा उत्तीर्ण गरेपछि अरुण थापाको औपचारिक सङ्गीत यात्रा सुरु भयो। आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा उनले पहिलो गीत रेकर्ड गराए। त्यो यात्रा सजिलो थिएन। पहिलो पाइला सधैँ सफलताको शिखरमा पुग्दैन। कहिलेकाहीँ समयले कलाकारलाई पहिले परीक्षा लिन्छ, अनि मात्र उसको प्रतिभालाई संसारसामु चिनाउँछ।
उनको पहिलो गीतले तत्काल अपेक्षित सफलता पाएन। तर असफलता भनेको अन्त्य होइन रहेछ। कहिलेकाहीँ मौनताभित्रै भविष्यको ठूलो स्वर तयार भइरहेको हुन्छ। अरुणको जीवनमा पनि त्यस्तै भयो। सुरुका केही गीतहरू समयको भीडमा हराए, तर उनको साधना हराएन। उनको स्वरभित्र लुकेको पीडा, मिठास र आत्मीयता बिस्तारै श्रोताको मनसम्म पुग्ने बाटो खोज्दै थियो। अनि आयो त्यो क्षण, जसले नेपाली सङ्गीतको इतिहासमा एउटा अमिट छाप छोड्यो।
जति माया लाए पनि,
जति कसम खाए पनि
यो गीत केवल एउटा गीत थिएन। यो एउटा घाइते हृदयको आवाज थियो। यसमा प्रेम गुमाएको मानिसको पीडा थियो, विश्वास टुटेको मानिसको मौन चित्कार थियो, र अझै पनि माया गर्न सक्ने एउटा कोमल आत्माको स्वीकारोक्ति थियो। जब अरुणको स्वरमा यो गीत गुञ्जियो, धेरै मानिसहरूले आफ्नै कथा त्यसमा भेटे। कसैले आफ्नो अधुरो प्रेम सम्झिए, कसैले बिछोडको त्यो क्षण सम्झिए जहाँ शब्दहरू समाप्त भएका थिए। यही कारणले होला, यो गीत केवल सुन्ने कुरा बनेन, यो त महसुस गर्ने भाव बन्यो।
अरुण थापाको विशेषता नै यही थियो। उनी शब्दलाई केवल उच्चारण गर्दैनथे, उनी त्यसलाई बाँच्छन्। गीतको प्रत्येक हरफमा उनको आफ्नै जीवनको कुनै न कुनै छायाँ देखिन्थ्यो। त्यसैले उनको स्वरमा एउटा अनौठो सत्यता थियो। त्यो स्वर अभिनय गरिएको पीडा थिएन, भोगिएको पीडा थियो।
त्यसपछि नेपाली सङ्गीतमा अरुण थापा एउटा फरक पहिचानका साथ स्थापित भए। उनलाई सुन्न चाहनेहरू बढे। उनको स्वरमा आफ्नै दुःखको प्रतिध्वनि भेट्ने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै गयो। तर बाहिरबाट प्राप्त लोकप्रियताको उज्यालोभित्र पनि उनको मनका केही अँध्यारा कुनाहरू अझै बाँकी थिए। उनले गाए,
म रोए पनि तिमी हाँसीदिनु,
यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु
यी शब्दहरू केवल प्रेमिकालाई भनिएको अनुरोधजस्ता लाग्दैनन्। यी त एउटा थाकेको आत्माले संसारलाई दिएको अन्तिम शुभकामनाजस्ता लाग्छन्। आफू दुखे पनि अरूको खुसी चाहने हृदय कति विशाल हुनुपर्छ, त्यो उनको स्वरले देखाउँछ।
अरुणका धेरै गीतहरूमा यही विरोधाभास भेटिन्छ। उनीभित्र पीडा थियो, तर उनका गीतहरूले अरूलाई सान्त्वना दिए। उनी आफैँ एक्ला थिए, तर उनका स्वरले लाखौँ एक्ला मानिसहरूलाई साथ दिए। उनी आफैँ घाइते थिए, तर उनका गीतहरूले अरूका घाउमा मलम लगाइदिए।
चोट के हो व्यथा के हो,
म जस्तो घाइतेलाई सोध
यो हरफ सुन्दा लाग्छ, कुनै कविले कल्पना गरेर लेखेको होइन। यो त जीवनसँग प्रत्यक्ष संवाद गरेको मानिसको आवाज हो। जसले चोट भोगेको छ, उसैले पीडाको वास्तविक अर्थ बुझ्न सक्छ। अरुणको महानता यही थियो कि उनले आफ्ना व्यक्तिगत पीडाहरूलाई सबैको साझा अनुभूति बनाइदिए।
उनका गीतहरूमा प्रेमको चाहना मात्र छैन, त्यागको सौन्दर्य पनि छ। अरूसँग नजोख मलाई, मेरा गीत सबै तिमीलाई, के छ र दिऊँ तिमीलाई, आँशुहरू सबै जस्ता गीतहरूमा एउटा मानिसको पूर्ण समर्पण देखिन्छ। त्यहाँ प्रेम प्राप्त गर्ने आग्रहभन्दा धेरै प्रेमलाई सम्मान गर्ने भावना छ। कहिलेकाहीँ लाग्छ उनको स्वरमा, एउटा मानिस बिस्तारै आफ्नै अस्तित्वलाई सङ्गीतमा विलीन गरिरहेको छ। उसले केही मागिरहेको छैन। केवल आफ्नो हृदय खोलेर राखिरहेको छ। सायद यही कारणले अरुण थापाका गीतहरू समयसँगै अझ मूल्यवान हुँदै गए। समयले नयाँ नयाँ गायकहरू जन्मायो, नयाँ प्रविधि आयो, सङ्गीतका स्वरूपहरू बदलिए, तर अरुणको स्वरको आत्मीयता कहिल्यै पुरानो भएन। किनकि साँचो कला समयको अधीनमा हुँदैन। त्यो समयलाई नै पार गरेर जान्छ।
अरुण थापा त्यही यात्राका यात्री थिए, जसले आफ्नो जीवनको पीडालाई सङ्गीतको अमर यात्रामा बदलिदिए। अरुण थापा त्यही अमर कलाका साधक हुन्। उनको स्वर नेपाली सङ्गीतको एउटा यस्तो दीप हो, जुन समयको हावाले निभाउन सकेन। त्यो दीप आज पनि बलिरहेको छ। कहिले कुनै पुरानो गीत बनेर, कहिले कुनै सम्झनाको आँसु बनेर, कहिले कुनै एक्लो मनको साथी बनेर।
उनी गएका छैनन्। उनी त हरेक त्यस्तो क्षणमा उपस्थित छन्, जहाँ एउटा मानिस आफ्नो मनको कुरा शब्दमा भन्न सक्दैन र एउटा गीतको सहारा खोज्छ। त्यही गीतमा कतै अरुण थापा भेटिन्छन्। त्यही स्वरमा उनको आत्मा मुस्कुराइरहेको हुन्छ। त्यसैले अरुण थापा एउटा नाम मात्र होइनन्। उनी नेपाली मनको एउटा अमिट अनुभूति हुन्। एउटा यस्तो स्वर, जो समयको मौनतामा पनि निरन्तर गुञ्जिरहन्छ।













