पार्टीहरु मिलेर जाँदा नै राम्रो

-डा. डीआर उपाध्याय


पार्टीहरु मिलेर जाँदा नै राम्रो हुन्छ । सत्ताका लागि फुट्नु भनेको जनमतको अपमान हो । अहिले जसपाभित्र पनि ठूलो विवाद उत्पन्न भएको छ । बाबुराम र उपेन्द्र सरकारमा जान नहुने अडानमा छन् भने महन्थ ठाकुर र  राजेन्द्र महतो पक्षले सरकारमा जाने कुरामा जोड दिँदै आएका छन् । लुम्विनी प्रदेशमा जसपा सरकारमा सहभागी भएपछि पार्टीभित्र विवाद चर्किएको हो । सत्ताका लागि पार्टीभित्र यस्ता खेल पहिला पनि हुने गर्दथे । यो कुनै नौलो कुरा होइन । राजनीतिक दल र तिनका नेताहरुले आफनो व्यक्तिगत स्वार्थ भन्दा अरु केही सोचेनन् । उनीहरुले देश र जनताको पक्षमा हित हुने काम गरेर देखाउने अवसर गुमाउँदै आएका छन् । अवसर भनेको सधैभरि आउँदैन । त्यसो भएकोले अवसर गुम्न दिनु हुँदैन । भोलि पछुतो लाग्न सक्छ ।

राजनीति भनेको सवै नीतिको मूल नीति हो । त्यसैले राजनीतिलाई बदनाम गर्ने काम कसैले गर्नु हुँदैन । गत आम निर्वाचनमा कम्युनिस्टहरूको एकताका कारण झण्डै दुई तिहाइ बहुमत आयो । अव आउँदो चुनावमा के हुन्छ भन्न सकिदैन । कम्युनिस्टहरू मिलेर नजाने हो भने अव आउँदो चुनावमा कांग्रेस अगाडि आउने देखिन्छ । अव आउने चुनाव नेपाली काँग्रेसको लागि अवसर हुने देखिन्छ । प्रजातन्त्र पुनःस्थापना भएयता जतिपनि आम निर्वाचन सम्पन्न भए अधिकाँश ती आम निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो । नेपाली काँग्रेस लामो समयसम्म लोकतन्त्रका लागि लडेको पार्टी हो । ऊ लोकतान्त्रिक र पुरानो पार्टी पनि हो । नेपाली काँग्रेसले पटक पटक सरकारको नेतृत्व त गदै आयो तर जनताका जुन किसिमका अपेक्षाहरु थिए ती भने उसले पूरा गर्न सकेन । त्यसकारण कम्युनिष्टहरुका लागि अवसर बन्यो । कम्युनिस्ट पार्टीहरू एक आपसमा मिल्न नसकि विभाजन हुँदै आएका छन् । यसले गर्दा पनि नेपाली काँग्रेसलाई बेला बेलामा फाइदा हुने गरेको छ ।

गत चुनावमा कम्युनिस्ट पार्टी मिलेर झण्डै दुईतिहाइ नजिक बहुमत ल्याएका थिए । तर उनीहरुको एकता लामो समय सम्म टिक्न सकेन । एकता तीनवर्ष मात्र कायम रह्यो । कम्युनिष्टमा यो समस्या छ । नेपालको राजनीतिक इतिहासमा वामपन्थी पार्टी पटक पटक फुटदै, जुटदै आएका छन् । फुटको राजनीतिले कम्युनिष्टहरुलाई नै घाटा छ । जति कम्युनिष्ट जुटछन् उती उनीहरुलाई फाइदा छ । एकतामा नै कम्युनिस्टहरूको जित सुनिश्चित हुन्छ । अरुबेला भन्न सकिदैन । २०७४ सालअघिका निर्वाचनमा पनि कम्युनिस्टहरूले नै बहुमत ल्याउने सम्भावना बलियो थियो, तर विभाजनका कारण उनीहरूले बहुमत ल्याउन सकेनन् । विगतमा आफ्नै कमजोरीका कारण उनीहरुले धेरै अवसर र सम्भावना गुमाएका छन् ।

ओली र प्रचण्डले २०७४ को वाम एकतालाई कायम राख्न सकेनन् । जुन एकता उनीहरूको प्रयासमा नै सफल भएको थियो । कम्युनिस्टहरु मिल्न जान्दैनन् विभाजन मन पराउँछन् । यो कुरा इतिहासले पुष्टि गर्दछ । भारतले नेपालमा कम्युनिस्ट पार्टी मिलेर बसेको देख्न चाहेको थिएन । नेकपा फुटमा भारतको हात छ भन्नेहरु पनि छन् । उनीहरुलाई मात्र दोष देखाएर पानी माथिको ओभानो बन्न खोज्नु मुर्खता हुने छ । ओली र प्रचण्ड मिलेको भए पार्टी फुटने थिएन । एकता गरेर जाने हो भने नेपालमा कम्युनिष्टहरुको नै बहुमत छ । उनीहरूलाई अन्य दलसँग सहकार्य गर्न आवश्यकै पर्दैन । नेपाली जनताले सिंगो वामपन्थी एकता खोजेका छन् । तल्लो तहका नेताहरू पनि एकताको पक्षमा छन् l  वाम नेताहरूमा अहंकार, घमन्ड र व्यक्तिगत स्वार्थ छ । नेपाली जनताले एकता खोजेका छन् । एकता गरेको कारणले नै नेपाली जनताले २०७४ सालको चुनावमा कम्युनिष्टलाई बहुमत दिएका हुन् ।