सामाजिक विभेद विरुद्धको चेतनामूलक गीत ‘बोल देउता बोल’


सामाजिक सचेतनाको बुलन्द आवाज बोकेको सन्देशमूलक गीत बोल देउता बोल को भिडिओ सार्वजनिक भएको छ । प्राज्ञ ज्योति प्रकाशको सङ्गीत/स्वर तथा राजु कार्कीको सङ्गीत संयोजन रहेको यो गीत चन्द्र भट्टचनले लेखेका हुन् । 
समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेद विरुद्ध आवाज बुलन्द गरिएको यस गीतमा विषेशत: एउटा मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा स्थापना गरेपछि स्वयं मुर्तिकारले नै त्यसलाई छुन वा पूजा गर्न नपाएपछिको पीडालाई सम्बोधन गरिएको छ ।

सामाजिक विकृति विरुद्ध आवाज उठान गर्ने यस गीतको भिडिओ वरिष्ठ सञ्चारकर्मी एवं गीतकार शान्तिप्रियको निर्देशनमा निर्माण भएको हो  भने भिडिओमा प्रमुख कलाकारको रुपमा माधवराज खरेललाई देख्न सकिन्छ । भिडिओमा खरेलका अलावा चर्चित गीतकार लोकराज अधिकारी, गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी र सञ्चारकर्मी राजन थापालाई पनि देख्न सकिन्छ ।

गोविन्द अञ्जानको छायाङ्कन रहेको यो भिडिओ विकास धमलाले सम्पादन गरेका हुन् । सामाजिक सचेतनाको लागि तैयार पारिएको यो गीत र भिडियोलाई दर्शक/स्रोताहरुले मन पराउने कुरामा आफूहरु आशावादी रहेको यसका निर्देशक शान्तिप्रिय र सङ्गीतकार एवं गायक ज्योति प्रकाशले बताएका छन् । भिडिओ सर्जक ज्योति प्रकाशकै अफिसियल युटुव च्यानल Jyoti Prakash मार्फत सार्वजनिक गरिएको छ ।