नेपाली जनता नाङ्गो आङ र भोको पेट लिएर बाँच्न विवश

डा. डीआर उपाध्याय


अहिले नेपाली जनता नाङ्गो आङ र भोको पेट लिएर बाँच्न विवश छन् । नेपाली जनताले यस्तो व्यवस्था चाहेका छन् जुन प्रयोगले संसदीय व्यवस्थामा विकृति नआओस् । अहिले देशमा जुन किसिमको विकृति छाएको छ, यसले लोकतन्त्रको धज्जि उडाएको छ । लोकतन्त्रमा जनताले बोल्न, लेख्न र सभा सम्मेलन गर्न पाउँछन् । यो जनताको अधिकारको कुरा हो । नेपाली जनताले समानता चाहेका छन् । समानताका लागि नेपाली जनता धेरै बर्षदेखि लड्दै आएका छन् । यो कुरा सवैले बुझ्न जरुरी छ । अहिले नेपालको राजनीति तरल बनेको छ । वर्तमान राजनीतिक अवस्था त्यति सहज ढङ्गले अघि बढ्न सकेको छैन । यो नै समस्याको बिषय हो ।

देशलाई कुनैपनि नेताले बन्दी बनाउनु हुँदैन । अहिले जे देखिएको छ, त्यो राम्रो सङ्केत होइन । अहिले देशमा राजनीतिक दलहरु गुट उपगुटमा बिभाजित छन् । यसले मुलुकमा सङ्कट निम्त्याएको छ । जनताको मतलाई दल र तिनका नेताहरुले अपमान गरेका छन् । दल भित्रको आन्तरिक किचलो नै यसको मुख्य कारण हो । जनमतको अपमान गर्नु भनेको ठूलो बिश्वासघात हो । लामो समयदेखि जनताको थाप्लोमा ऋण थपिएको छ । यो कसले बुझ्ने ? नेपाली जनता नाङ्गो आङ र भोको पेट लिएर बाँच्न बिवश छन् । हामीले देखिरहेका छौ, दिनहुँजसो बाकसका बाकस नागरिकका लास विदेशबाट आइरहेका छन् । यो कुरा बुझ्न नेपाल सरकारलाई जरुरी छ कि छैन ? मैले हरेक दिन प्रश्न गरिरहेको छु ।

रेमिटेन्सले देश धानेको कुरामा मख्ख पर्नु बेकार हो । यसले देशको बिकास हुँदैन । हाम्रो देशमा गरिबी, बेरोजगार, भोकमरी बढिरहेको छ । यो नेपाल सरकारका लागि चुनौतिको बिषय हो । हामी अझै कुनैपनि क्षेत्रमा आत्मनिर्भर बन्न सकिरहेका छैनौं । देशको अर्थतन्त्र डामाडोल छ । राष्ट्रिय एकता बलियो बनाउन सवै एकजुट हुनुपर्ने आवश्यकता देखिएको छ । नेपाली कांग्रेसले लामो इतिहास बोकेर पनि जनताको पक्षमा काम गर्न सकेन । त्यसो भएर पनि जनताले कांग्रेसलाई मन पराएनन् । अहिले जनताले कम्युनिष्टलाई पनि मन पराएका छैनन् । कम्युनिष्टले अहिले जसरी सत्ता र सरकारको दुरुपयोग गरी राज्यस्रोतको दोहन गरेको छ, यो राम्रो कुरा होइन । अहिले देशमा घुसखोरी, भ्रष्टाचारी र कमिसनतन्त्रको खेल भैरहेको छ । नेताहरुले अकूत सम्पत्ति जोडेर वर्मालुट गरिरहेका छन् । यसो हुनुको मूलभूत कारण संसदीय व्यवस्था नै ठिक नभएर हो ।

नेताहरु चुनावका बेला जनतासमक्ष जानुपर्छ । यो कुरा किन भुलेको ? पुँजीपति वर्गको रक्षा र संरक्षण गर्नु गलत हो । यसको जरोदेखि नै उखेलेर फाल्नु पर्छ । अहिले देशमा बजार व्यवस्थित हुन सकेको छैन । जनता शोषणमा छन् । भ्रष्टाचार, कुशासन, कमिसनको खेल र आर्थिक अनियमितता जस्ता अनेक कुचक्र संसदीय व्यवस्थाका क्यान्सर हुन् । देशको अहिलेको आवश्यकता भनेको स्थिरता, समृद्धि र दिगो विकास हो । सबै जाति, भाषा, लिंग र क्षेत्रका जनसमुदायको राजकीय अधिकारको समग्रता राष्ट्रियता हो । यो पनि अहिले कमजोर छ । किनकि अधिकारका नाममा दलाल पुँजीवादका सेवकलाई मात्र भोट दिन जनता बाध्य छन् । जनता र शासकबीचको खाडल असाध्यै गहिरो छ । यसकारण जनता आज चरम निराशामा पुगेका छन् । अव देश-विदेशमा छरिएका वैज्ञानिक, इन्जिनियर र प्राविधिक सर्जकहरूलाई राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नु पर्छ । प्राविधिक उत्पादनमा आत्मनिर्भर भई देशको उच्च विकासमा तीव्रता दिनु पर्छ ।