अब सीमा नाकाहरूमा कडाई गर्नु पर्छ

डा. डीआर उपाध्याय


मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने संकेत देखिन थालेको छ । फेरि जनतामा एक खालको त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन । यो बडो चिन्ताको बिषय हो । अव हामी सवै नागरिक हरु सचेत बन्नु पर्ने बेला फेरि आएको छ । कोही पनि यो रोग संग हेलचेक्राइ गरेर बस्नु हुदैन । कोरोना संक्रमण भनेको महामारी हो । यो संग डराउनुका साथै सचेत हुनु पर्छ । सवै भन्दा पहिला आफू सचेत भएर अरुलाई सचेत गराउनु पर्छ । अहिले विश्वभर जुन किसिमले पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । अव ढिला नगरी कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि सरकार अग्रसर हुनुपर्छ । पूर्व तयारीका साथ सरकार बस्नु पर्छ । रोगले माहामारी लिए पछि गरिएको तयारीले कुनै अर्थ रहने छैन ।

राजनीतिक दलहरूले केहि महिना अघि कोरोनाको कुनै वास्ता नगरी कैयौं ठूला सभा-सम्मेलनहरू गरे । यो प्रवृत्ति अहिले पनि कायमै छ । यस्ता भीडभाडले संक्रमण फैलन सक्छ । भएको त्यही हो । संक्रमण दर फेरि उकालिन थालेपछि सरकारले २५ जना भन्दा बढिको भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । तर पनि त्यसको पूर्ण पालना भएको पाइँदैन । पछिल्लो समय २५ जनाभन्दा बढीको भेलामा रोक लगाउन स्वास्थ्य मन्त्रालयले जुन आग्रह गरेकोछ । त्यो सम्बन्धित सबैले मान्नु पर्छ । सानातिना भेलामा पनि स्वास्थ्य मापदण्ड अपनाउन कसैले भुल्नु हुँदैन । यो कुरामा अटेरी गर्ने काम कसैले गर्नु हुदैन । मापदण्ड अपनाएको नअपनाएको बारे बेला बेलामा सरकारी पक्षबाट अनुगमन हुनुपर्छ । घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं । हामी सवैले अनिवार्य रूपमा मास्क लगाउन, बेलाबेलामा हात धुन वा ‘स्यानिटाइजर’ प्रयोग गर्न र व्यक्तिगत दूरी कायम राख्न नभुलौं । सहरबजार, भीडभाडमा जाँदा होस् या सार्वजनिक यातायात चढ्दा होस् हामी सवैले विशेष सतर्कता अपनाऔं ।

विश्वभर कोरोना भाइरसका नयाँ प्रजातिहरू फैलिरहेको र नेपालमा पनि त्यसको नमुना देखिइसकेकाले हामी धेरै सजग रहन आवश्यक छ । अव सम्बन्धित सबैको जोड संक्रमण फैलिन नदिनेमै हुनुपर्छ । महामारी संग लडन सवै जुटेर अघि बढनु पर्छ । सरकारको मात्र एकल प्रयासले केही हुदैन । सरकारले उचित कार्ययोजना भने बनाउनुपर्छ, नागरिकले त्यसमा साथ दिनुपर्छ । अव महामारी अनियन्त्रित ढंगले बढ्न नदिन परीक्षण र ‘कन्ट्याक्ट ट्रेसिङ’ को दायरा फराकिलो बनाउनु पर्छ । पछिल्लो समयमा आएर भारतमा संक्रमितको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी अहिल्यै सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । अव सीमानाकाहरूमा कडाई गर्नु पर्छ । बिगतमा जस्तो अस्तव्यस्त हुन दिनु हुदैन । विगतका कमजोरीहरूबाट पाठ सिकेर जानु पर्छ । भारतमा दिनहुँ करिब डेढ लाख जनामा संक्रमण देखिन थालिसकेकाले यो पाटोमा विशेष ध्यान दिनुपर्छ ।