साँढे २ दशकपछि काठमाण्डौमा मेलम्चीको पानी

डा. डीआर उपाध्याय


लामो प्रतिक्षापछि मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा आएको छ । मेलम्चीको पानी धारामा आइसकेपछि काठमाडौंका जनता खुशी हुनु स्वाभाविक हो । साँढे दुई दशकको प्रतीक्षापछि बल्ल मेलम्चीको पानी काठमाडौं भित्रिएको छ । काठमाण्डौवासीका लागि यो खुशीको कुरा हो । पानी मानिसका लागि नभई नहुने चिज हो । पानी जीवन हो । काठमाडौंमा पानी आइपुगेकाले अब काठमाडौंवासीले खानेपानीको हाहाकार भोग्न नपर्ला । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना देखनुभएको थियो । अहिले हाम्रो सामु भट्टराई हुनुहुन्न तर पनि उहाँले देखेको सपना पूरा भएको छ । यस ऐतिहासिक क्षणमा उहाँलाई स्मरण गर्नुपर्ने हुन्छ । भट्टराईको अधुरो सपनालाई केपी शर्मा ओली नेतृत्वको सरकारले पूरा गरेकोमा हामी सवै काठमाडौवासीले धन्यवाद दिनुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियताले गर्दा नै राष्ट्रिय गौरवका आयोजनाले गति पाएका छन् । प्रधानमन्त्री कार्यालयको पहिलो प्राथमिकतामा परेको मेलम्चीको खानेपानी आयोजना थियो । यो आयोजनाले ढिलै भए पनि सार्थकता पाएको छ । मेलम्चीको पानी यति छिटो काठमाडौ आइपुग्छ भनेर जनताले बिश्वास गरेका थिएनन् । तर पानी आएरै छाड्यो । यो आयोजना पटकपटक चुनावी प्रचारको सामग्री बनेको थियो । पानी आइसकेपछि यसले काठमाडौंका काकाकुल जनतामा खुशी ल्याएको छ । काठमाडौं उपत्यका मात्र होइन काठमाण्डौ बाहिरका अन्य खानेपानी लगायतका आयोजनाले पनि यसै गरी पूर्णता पाउनु पर्छ । देश निर्माणको यो गतिले निरन्तरता दिइरह्यो भने देशले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा केवल नारामा मात्र सीमित नभएर व्यवहारमा कार्यान्वयन हुनेछ ।

मेलम्चीको खानेपानी जति सक्यो बढी वैज्ञानिक ढङ्गले यसको वितरण गर्ने कुरामा बढी ध्यान दिनुपर्छ । पानी काठमाडौंमा आइपुग्ने तर वितरण उचित किसिमले हुन नसक्ने वातावरण बन्यो भने जनतामा निराशा आउन सक्छ । यसमा सरकारले ध्यान दिनु पर्छ । व्यवस्थापन गरिसकिएका ठाउँमा वितरणलाई ढिलाइ गर्नु हुँदैन । बाँकी रहेका ठाउँमा पनि वितरणको व्यवस्थापनमा ध्यान दिनु पर्छ । जति सक्यो चाँडो सबै काठमाडौंवासीको घरघरका धारामा मेलम्चीको पानी पुर्याउनु पर्छ । यसमा ढिला गर्नु हुँदैन ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भटराईले मेलम्चीको पानी काठमाडौं ल्याउने भनी २०४८ सालमा देखाएको सपना हो यो । योजना निर्माण हुन लामै समय लाग्यो । उपत्यकामा सबैभन्दा ठूलो समस्या भनेको खानेपानी हो । आइतबारदेखि आंशिक रूपमा खानेपानी वितरण सुरु भएको छ । अव केही दिनभित्रै सबैका घरमा पानी पुग्ने आशा गरिएको छ । जसले गर्दा उपत्यकावासीको मुहारमा खुसी छाएको छ । विगतमा जेजस्ता ढिलासुस्ती भए पनि तत्कालका लागि पानी वितरण सुरु हुनु हर्षको कुरा हो । अबदेखि पानी वितरणलाई नियमित बनाउनेतर्फ सरकारी ध्यान केन्द्रित हुनुपर्छ । लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना सफल भएको छ । पिउने पानीको अभावमा छटपटिएका राजधानीवासी यति बेला खुशी छन् । आशा गरौं, अब नियमित रूपमा उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनेछन् । मेलम्ची आयोजना सफल हुनु भनेको बिकास र समृद्धिको यात्राले गति लिनु हो ।