कोरोना सङ्क्रमणको दोस्रो लहरको त्रास

डा. डीआर उपाध्याय


कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम नेपालमा पनि देखिन थालिसकेको छ । त्यसैले हामी सबै सर्तक र सचेत बनौं । कोरोनासँग हेलचेक्याई नगरौं । कोरोनालाई परास्त गर्न सरकार र हामी सवैको सामूहिक प्रयास र सहकार्य आवश्यक छ । सरकारले पहिलो लहरको कोरोनालाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भएकै हो । पहिलो लहरको कोरोना सङ्क्रमण अनुमान गरिएको भन्दा कम क्षति भएको थियो । ढिलै भएपनि सरकारद्वारा नेपालमा खोप भित्राएर सकारात्मक कामको थालनी भएको छ । यस्ता कार्यक्रम र योजनाले आम नागरिक आशावादी र खुशि पनि छन । अहिले हामीले खोपसमेत लगाउने अवसर पाएका छौं । त्यसैले अब कोरोनासँग डराउनु पदैन । सर्तकता र सावधानी भने अपनाउनु पर्छ ।

सत्तारूढ दलभित्रको किचलोका कारण सरकारले प्रभावकारिताका साथ काम गर्न नपाएकै हो । आफ्नै पार्टीभित्रबाट सरकारलाई असहयोग भयो । अहिले सम्म सरकारले चाहे अनुसार काम गर्न पाएको छैन । यो सरकारलाई काम गरेर देखाउने अवसर मिलेकै हो तर आफनो पार्टी भित्रको असहयोगको कारण काम गर्न सकेन । पछिल्लो एक वर्षदेखि कोरोना संक्रमणले गर्दा सबै क्षेत्र तहस नहस छन । यसैका कारण पनि विकास र समृद्धिको बाटोमा धेरै अवरोध सिर्जना हुन पुगेका छन् । समस्याका बाबजुद पनि सरकारले मुलुकलाई अगाडी बढाउने प्रयासलाई भने जारी राख्दै आइहेको छ । लामो समय देखि सत्तारूढ दलभित्रको अन्तरकलह नराम्ररी चुलिएको छ । पद, शक्ति र सत्ताकै लागि सत्तासीन दलको झगडा चलिरहेको छ । यसले मुलुकलाई क्षति हुने देखिन्छ । झन्डै एक वर्षदेखिको कोरोना संक्रमणबाट पार पाउँदै आर्थिक क्षेत्रदेखि सबै क्षेत्र बिस्तारै चलायमान हुँदै आइरहेका छन् । सरकारले सबैलाई समेटेर कोरोनाविरुद्धको लडाइँमा एकीकृत रूपले अगाडि बढाउनु पर्छ ।

अहिले पुनः कोरोना संक्रमणको दोस्रो लहरले सबै क्षेत्रमा त्रास बढाएको छ । गत बर्षको लडकाउनको जस्तो नियति अब कहिल्यै कसैले पनि भोग्नु नपरोस् भन्ने हाम्रो कामना छ । सरकारले त्यस्तो अवस्था आउन दिनु हुदैन । दोस्रो लहर सुरु भएमा नागरिकको जीवन रक्षा गर्न सरकारको विशेष ध्यान जान जरुरी छ । त्यसैले सरकार पूर्व तयारीका साथ बस्नु पर्छ । यस्तो संवेदनशील अवस्थामा दलहरु आन्तरिक बिवादमा छन । यस्तो अवस्थामा फेरि पनि मुलुकमा सरकार परिवर्तनको खेल खेलिन्छ भने त्यो राम्रो कुरा हुनेछैन । अब बाँकी समय सवै दलहरु मिलेर वर्तमान केपी शर्मा ओली नेतृत्वकै सरकारलाई प्रभावकारी रूपमा काम गर्न दिनुपर्छ । सरकारले पनि सबैको मन जितेर अघि बढनु पर्छ । अव सरकारले सबैलाई समेटेर कोरोनाविरुद्धको लडाइँमा एकीकृत रूपले अगाडि बढाउँदै लैजाने अवस्था आउन पनि सक्छ । कोरोना भाइरसविरुद्धको लडाइँमा सवै एक जुट हुनुपर्छ । नागरिक स्तरमा अनुशासन र संयमता अत्यावश्यक छ । कोरोना संक्रमण न्यूनीकरण गर्न विगतमा नेपालमा लागू गरिएको लकडाउनको मोडालिटी पूर्ण रूपमा असफल साबित भएको हो । लकडाउन गर्नुभन्दा पनि भारतीय सीमानाकाको व्यवस्थापनमा सरकारले गम्भीर ध्यान दिन जरुरी छ ।