मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे केही कुरा

डा. डीआर उपाध्याय


यतिबेला मुलुकको राजनीति तरङ्गित छ । अब के हुन्छ कसैलाई थाहा छैन । अब यही सरकारले निरन्तरता पाउँछ कि अर्को सरकार बन्छ केही थाहा छैन । राजनीतिमा कतिखेर के हुन्छ कुनै ठेगान हुँदैन । अब यही सरकार कायम हुन्छ या नयाँ सरकार बन्छ भन्ने कुरामा अनेकखालको बहस भने चलिरहेको छ । यतिबेला मुलुकको राजनीतिक ध्रुवीकरणमा बिभाजित छ । राजसपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे ओली सरकार नै कायम रहने देखिन्छ । यदि राजसपाले ओलीलाई साथ नदिएमा कांग्रेस, माओवादी केन्द्र र राजसपाको त्रिशङ्कु सरकार बन्ने अवस्था पनि छ । राजसपामा पनि केपी ओलीलाई साथ दिने कि कांग्रेस, माओवादी केन्द्रसंग मिलेर सरकार बनाउने भन्ने कुरामा बिवाद छ । खासगरी राजसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीको पक्षमा उभिएका छन् भने अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको बिपक्षमा छन् ।

भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको पक्षमा उभिएको संकेत देखिन्छ । यता माओवादी केन्द्रले अहिलेसम्म वर्तमान सरकारलाई दिएको पूर्वसमर्थन फिर्ता लिएको छैन । जसको कारण अहिले पनि वर्तमान सरकार बहुमतमै छ । यदि माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकार स्वत: अल्पमतमा पर्नेछ । त्यसपछि मात्र नयाँ सरकार बन्ने खेल सुरु हुन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन फिर्ता लिइरहेको छैन ? यो गम्भीर प्रश्न छ । नेपाली काँग्रेसले नयाँ सरकारभन्दा पनि नयाँ निर्वाचनका लागि जोड दिइरहेको छ । कारण के हो भने कम्युनिस्ट पार्टीहरु फुटेको अवस्थामा निर्वाचनमा जाँदा पार्टीलाई फाइदा पुग्ने अनुमान काँग्रेसको छ । त्यही भएर काँग्रेस निर्वाचनमा जोड दिन्छ । त्यसो त प्रधानमन्त्री ओली पनि नयाँ निर्वाचनमा जोड दिन चाहन्छन्  । सत्तामा रहेको बेला निर्वाचनमा जाँदा बहुमत ल्याउँछु भन्ने ओलीको मनोविश्लेषण हुन सक्छ । यो बिषयमा माओवादी केन्द्रका नेताहरु मौन छन् । सर्वोच्च अदालतको फैसलाले पूर्वनेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह राजनीतिक सकसमा परेका छन् । सबैभन्दा बढी सकस माधव नेपाल-झलनाथ खनाल समूहलाई परेको देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले माधव-झलनाथ समूहलाई पेल्नु पेलेका छन् । जसको कारणले गर्दा माधव-झलनाथ समूह पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् । पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिन्छ । माधव-झलनाथ समूहलाई ठूलो समस्या परेको छ । माधव-झलनाथ समूहमा केन्द्रीय समितिमा ४० प्रतिशत भएपनि संसदीय दलमा यो संख्या छैन । अब नेपाल-खनाल समूह पार्टीमै रहने र समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको देखिन्छ ।

भारत खासगरी अमेरिका र चीनको प्रभाव नेपाली राजनीतिमा नपरोस् भन्न चाहन्छ । भारत, चीन, अमेरिकाको नेपालमा आ-आफ्नै किसिमको स्वार्थ छ । एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले झन्डै दुई तिहाइ बहुमत दिएकै थिए । आपसमा मिल्न नसकेर भाँडभैलो छ । अब चुनावमा जाँदा एमाले र माओवादी केन्द्रलाई जनताले फेरि पत्याऊलान् ? एमाले र माओवादी केन्द्र जनतासंग के भनेर भोट माग्न जाने ? यदि पार्टी र मुलुकको भविष्य सोच्ने हो भने केपी ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम मिलेर जानु पर्छ । त्यतिमात्र होइन अलग पार्टीमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई समेत सहभागी बनाएर संगै लैजाने प्रयास हुनु पर्छ । यो तालले देश चल्दैन । कांग्रेस चुनावमा जान हतारिनुको प्रमुख कारण भनेको के हो भने कम्युनिस्टहरुको फुटलाई आधार मानेर हो । जनताले एमाले र माओवादी केन्द्रलाई ५ वर्षका लागि सरकार चलाउन स्पष्ट म्यान्डेट दिएका हुन् । यो पाँच वर्षको अवधिमा अझै दुईवर्ष सरकार चलाउने अवधि छ । यदि एमाले र माओवादी केन्द्र यसरी नै जाने हो भने अबको जनमत कांग्रेसतिर नजाला भन्न सकिन्न ।