महिला दिवस र अधिकारका कुरा

-डा. डीआर उपाध्याय


महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ हिजो मनाएका छन् । श्रमिक महिलाको हकहितका लागि आवाज उठाउँनु उनीहरुको अधिकारको कुरा हो । यो दिवस विश्वस्तरमै मनाउने गरिन्छ । यो दिवसलाई नेपालले पनि विशेष रुपमा मनाउदै आएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार; समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । नेपालमा महिला दिवस हरेक बर्ष मनाईने गरिन्छ । बिभिन्न संघ संस्थाहरुले पनि यो दिवसमा अन्तरक्रियाका साथ महिलाहरुलाई सम्मान गदै पनि आएका छन् । महिलालाई सम्मान गर्न सवैले सिक्नु पर्छ । जहाँ नारीको सम्मान र इज्जत गरिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । महिला दिवस हिजो जसरी उत्साहका साथ मनाइयो त्यसैगरी महिला अधिकारका लागि पनि सवै जुटेर अघि बढ्नु पर्छ ।

नेपाल सरकार तथा महिलाका विषयमा काम गर्ने संघ-संस्थाले हरेक बर्ष यो दिवस मनाउँदै आएका छन् । यो राम्रो पक्ष हो । तर महिला दिवसलाई औपचारिक कार्यक्रममै सीमित गरिएको देखिन्छ । दिवसका अवसरमा मात्र अधिकारका कुरा गरेर हुँदैन । अधिकारका कुरा सधै उठाउनु पर्छ । अहिलेसम्म पनि समाजमा महिलालाई हेर्ने दृष्टिकाणमा खासै परिवर्तन आउन सकेको छैन । हरेक दिनजसो महिला हिंसामा परेको समाचार आउने गर्छन् । बालिका बलात्कृत भएर ज्यान गुमाउने क्रम अझै रोकिएको छैन । अन्यायमा परेका पीडितहरु न्यायका लागि भौंतारिरहेका छन् । महिला हिंसाका घट्ना रोक्नका लागि आम मानिसको सोच र व्यवहारमा परिवर्तन आउन जरुरी छ । मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म समाजमा महिला हिंसा रोकिने अवस्था देखिदैन । महिला हिंसा, घरेलु हिंसा, बलात्कार, दाइजोका नाममा हत्याजस्ता यी घटना अपराध हुन् । अपराधीहरुलाई कडा भन्दा कडा कानुनी सजाय नदिएसम्म यी घटनाहरु अझै बढेर जाने देखिन्छ ।

महिलामाथि हुने अपराधको संख्या दिनौं बढिरहेको छ । गत महिना मात्रै बलात्कारपछि बैतडीकी भागरथी भट्टको हत्या भएको घटना बाहिर आयो । महिलाका मुद्दामा सरकार गम्भीर बन्न जरुरी छ । कानुन राम्रो हुँदाहुँदै पनि कार्यान्वयनको पक्ष फितलो देखिन्छ । महिला तथा बालबालिकाको मुद्दामा घटना नै दर्ता नहुने, मिलापत्र गराइने जस्ता प्रचलन यथावतै छन् । यसले गर्दा समाजमा दण्डहीनता मौलाएको छ । अपराधीलाई राजनीतिक संरक्षण दिइनु हुँदैन । यो प्रचलनले महिला समस्यामा पर्दै गएका छन् । महिलामाथिको हिंसा, विभेद रोक्नु पर्छ । यस्ता कुरामा सरकार संवेदनशील हुनुपर्छ । प्रभावकारी ढंगले अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउनु सरकारको प्रमुख जिम्मेवारी हो ।

२१ औं शताब्दीमा पनि नेपालमा महिला र पुरुषबीच सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै छ । लैंगिक विभेदबाट हाम्रो समाज अझै मुक्त हुन सकेको छैन । महिला र पुरुष भनेको एकै रथका दुई पाङ्ग्रा हुन् । ठाउँठाउँमा महिला तथा बालबालिकामाथि सामूहिक बलात्कारपछि हत्या बढ्दै गएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तले न्याय पाउन नसक्दा अपराधीहरूको हौसला बढ्यो । बझाङकी १२ वर्षीया सम्झना कामी, बैतडीकी १७ वर्षीया भागरथी भट्ट र महोत्तरीकी ६ वर्षीया गुलाफ साह खातुनले निर्मलाकै नियति भोग्नुपर्यो ।