अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक मूलधारमा प्रवेश

डा. डीआर उपाध्याय


अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजनीतिक मूलधारमा प्रवेश गरेको छ । नेपाल र नेपाली जनताका लागि यो खुशीको कुरा हो । त्यसका लागि ३ बुँदे सहमति नै मिलन बिन्दु बनेको छ । अव विप्लव समूह संवाद, सहमति र सहकार्यको राजनीतिबाट अघि बढने देखिन्छ । सवै राजनीतिक समस्याको समाधान नै संवाद र सहमति हो । ढिलै भएपनि बिप्लवले कुरा बुझे । उनको पाटीले अव आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने छन् भन्ने बुझ्नु पर्छ । सरकारले पनि उक्त पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । सरकारले सम्पूर्ण बन्दी रिहाइ एवं मुद्दा खारेजी गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले तिन वुँदे सहमतिअनुसार बिहीबारै प्रतिबन्ध फुकुवा गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता चन्दले आज संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अशान्तिले कसैलाई फाइदा गदैन । अव मुलुक शान्तिमा गयो । देश पुनः अशान्तितर्फ जाने होकी भन्ने जनतामा एक खालको चिन्ता थियो । त्यो अव हट्यो । माओवादीको १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १८ हजारले ज्यान गुमाएका थिए । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ६५ हजारभन्दा बढी उजुरी परेका छन् । अझै पनि तिनको छिनोफानो हुन सकेको छैन। बिप्लव समूहलाई राजनीतिक मूलबाटोमा ल्याउन सरकारले चार महिनायता घनीभूत पहल गरेको थियो । अन्ततः सफल भएको छ । राजनीतिक मुद्दाको समाधान राजनीतिक विधि र पद्धतिबाट मात्र हल हुन्छ । अव कसैले हिंसा र अशान्तिको बाटो अवलम्बन गर्नुहुन्न । सरकारको शान्तिको यो पहल प्रशंसनीय छ । जनता सदा शान्ति चाहन्छन् । त्यसैले अशान्तिको गलत बाटो सदाका लागी बन्द गरिनुपर्छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट के सम्बोधन गर्छन् भन्ने कुरा सवैको चासोको बिषय बनेको छ । आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् । दुई दिनसम्म निरन्तर भएको वार्तामा चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका ३ बुँदे सहमति नै यसको आधार बनेको छ । सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । सहमति अनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका चन्द नेकपाका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

सरकार र विप्लव समूहको वार्ता सफल भएको छ । यो सकारात्मक कुरा हो । देशले शान्ति खोजेको छ । सरकारले यो राम्रो काम गरेको हो । राम्रो कामको सवैले प्रशंसा गर्नु पर्छ । बिप्लव समूह शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनु राम्रो कुरा हो । हिंसाको राजनीति राम्रो होइन । विप्लव समूहले आफूलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न खोजेकै हो । तत्कालीन नेकपा माओवादीमा देखिएको असन्तुष्टिलाई यो समूहले प्रतिनिधित्व गरेको हो । यो समूहले मोरङ, जाजरकोट, डोल्पाका एनसेलका दुई दर्जन जति टावरमा आक्रमण गरेको थियो । सबैखाले राजनीतिक समस्या वार्ताबाट समाधान भएका छन् । सरकारले सीके राउत समूहलाई पनि वार्ताकै माध्यमबाट मूलधारमा ल्याएको हो । विगतमा पनि राजनीतिक द्वन्द्व संवाद, सहमति र सहकार्यवाट समाधान भएका हुन् । अहिलेको राजनीतिक परिवर्तनको आधार पनि संवाद, सहमति र सहकार्य नै हो । वर्तमान नेपालले विद्रोह होइन विकास चाहेको छ । खासगरी विप्लव समूहले जनताका चाहनालाई आत्मसात् गरेको छ । उसले हिंसात्मक राजनीति राष्ट्रिय हितमा छैन भन्ने बुझेको छ ।