इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति हुन्छ

-डा. डीआर उपाध्याय


राजनीतिमा इमान्दारिता नहुँदा जनताले दुःख पाउँछन् । बेइमानको राजनीतिले नेपाली जनताले लामो समयदेखि दुःख पाइरहेका छन् । अब नयाँ पुस्ताले इमानको राजनीति गर्नुपर्छ । इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति हुन्छ । राजनीतिको नाममा कमाउँ धन्दा मौलाएको छ । यो नै देशको लागि सबैभन्दा डरलाग्दो रोग हो । राजनीति भनेको समाजसेवा हो । राजनीतिलाई कमाउँ धन्दा बनाउनु हुदैन । हाम्रो देशको राजनीति बद्नामी बन्दै गएको छ । यसो हुनु हुँदैन् किनभने नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीतिले सही बाटो लिने हो भने अरु नीतिहरु स्वतःसही बाटोमा आउँछन् ।

२०४६ सालको बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिको राजनीति त्यती सहज रुपका साथ इमान,जमान र नीतिमा चल्न सकेन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत टकराव र सत्तास्वार्थमा अधिकांश समय बिताए । जसको कारण मुलुक अघि बढ्न सकेन । व्यक्तिगत स्वार्थले गर्दा देश र जनताको बारेमा सोच्ने फुर्सद कसैले पाएनन् । जनताको चाहना विकास र सुशासन हो । यो चाहना अझै पुराहुन सकेको छैन । जब सम्म नेपालको राजनीति ठीक ठाउँमा आउँदैन तब सम्म विकास र सुशासन कायम हुने अवस्था देखिदैन । अब देशको विकास र सुशासन कायम गर्नको लागि इमान्दारी नेतृत्व वर्ग र कर्मचारीतन्त्र आवश्यक छ ।

अहिले अधिकांश कर्मचारीमा इमान हराएको अवस्था देखिन्छ । कर्मचारी नै भ्रष्टचारमा मुछिएका समाचार बेला बेलामा आउने गर्छन् । यो राम्रो संकेत पटक्कै होइन । कर्मचारीले जनताका काम पैसा बिना गर्दैनन् । पैसा बिना फाइल अघि सार्दैनन् । यस्ता जन गुनासाहरु स्थानीय तहमा बढी मात्रमा आउने गर्छन् । जनतालाई दुःख दिएर कमाएको पैसाले भ्रष्ट आचरण भएका जुनसुकै व्यक्तिलाई पनि एकदिन न एकदिन पोल्छ । हरेक नेपाली जनता इमानदारी बनेर देश बिकासमा लाग्नु पर्छ । जनता जागे पछि सवै कुरा ठिक ठाउँमा आउँछ । अन्यायमा कुनै पनि जनता पर्नु हुदैन । अन्याय र अत्याचारले सीमा नाघ्यो भने जनताले बिद्रोह गर्छन । नेपालको इतिहासले पनि त्यो कुरा पुष्टि गरेको छ ।

जनताले गरेको लामो समयको संघर्ष, माओवादीको १० बर्से जनयुद्ध र १९ दिने जनआन्दोलन समेतको बलमा संविधानसभाबाट संविधान निर्माण भएको हो । पहिलो संविधानसभाले संविधान दिन सकेन । दोस्रो संविधानसभाको चुनावले सविधान जारी गरेको हो । यो संविधानको रक्षा गर्नु सवैको कर्तव्य हो । अहिले गाली–गलौजको राजनीतिले स्थान पाएको छ । तर्क–विवेक र बुद्धिले काम गर्न छाडेपछि मान्छे गाली–गलौजका पछाडि लाग्छ । सत्तारुढ नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट खेमाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिनहुँजसो देखिने, सुनिने भाषणहरुमा एकले अर्कोलाई तथानाम गाली–गलौज गरेका छन्, । यो राम्रो कुरा होइन । जनतामा राम्रो संदेश जादैन । सरकारले आमसभा गर्ने कि नीति बनाएर काम गर्ने ? अधिकारविहीनहरुले हो सडक आन्दोलन गर्ने, सरकारले त काम गरेर देखाउने हो ।