नेकपा फुटेर होइन जुटेर जानुपर्छ

-डा. डीआर उपाध्याय


मुलुक यतिबेला राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । प्रतिनिधिसभा विघटन भएको छ । यसो हुनुमा मुख्यत नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वको व्यक्तिगत र गुटगत स्वार्थ हो । जसको परिणाम यो अवस्था सृजना भएको छ । तीन वर्ष अघि दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी निर्माण भयो र मिलेरै चुनावमा जादा झण्डै दुईतिहाई बहुमत प्राप्त भई सरकार पनि बन्यो । सुरुवाती दिनमा जनता खुशि पनि भए । अहिले नेकपा दुई खेमामा बिभाजित हुँदा नेकपा संकटमा छ । र नेकपाको यो गतिविधि देख्दा जनता निरास छन् । जसले गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो ऐतिहासिक विकासक्रममा अवरोध खडा भएको छ ।

नेताहरूको व्यक्तिगत स्वार्थ र अहङ्कारले नेकपा दुई खेमामा विभाजन भएको हो । नेकपालाई नेपाली जनताको जनसमर्थन रहँदारहँदै पनि नेकपा दुई खेमामा भई विभाजन हुनु मुलुकको लागि दुर्भाग्य हो । नेकपा भित्रको अन्तरविरोधले गर्दा त्यो जनसमर्थनको अपमान भएको महसुस नेपाली जनताले गरेका छन् । यो अवस्था आउनुमा जनताका कारणले होइन, नेकपाका नेताहरूको विवादको कारणले हो । यसले गर्दा नेपाली जनतालाई ठूलो धोका भएको छ । मुलुकलाई उन्नत, समृद्ध र सशक्त बनाउनका लागि बलियो कम्युनिस्ट पार्टीको आवश्यकता छ ।

प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक ध्रुवीकरण बढेर गएको छ । जसले गर्दा मुलुकको राजनीतिक भविष्य अन्योलमा परेको छ । नेकपा विभाजन हुनु हुँदैन ,मिलेर जानु नै देश र पार्टीको हितमा हुनेछ । दुई शीर्ष नेताले पदत्याग गर्ने र अलिकति अहम् त्याग गर्ने हो भने चुनावको खर्चमात्र होइन, देशले प्राप्त गरेको उपलब्धीको रक्षा हुनेछ । गत आम निर्वाचनमा ओली, प्रचण्ड मिलेर जाँदा नेकपाको बहुमत आयो । अब विभाजन भएर चुनावमा जाँदा कसैको बहुमत आउँदैन । यसरी पार्टी विभाजन हुँदा कुनै अर्को पार्टीले बहुमत ल्याउने निश्चित छ । त्यसैले समय छदै मिलेर जादा राम्रो हुन्छ । यो अवस्थामा चुनावमा जादा दुवै पक्षलाई घाटा छ । दुवै पक्षले यो कुरालाई मनन् गर्न जरुरी छ । अहिले दुवै पक्ष नरम भएर जानु पर्छ । देश र जनताका लागि पनि राम्रो हुन्थ्यो ।

अहिले नेकपा विभाजित हुनु भनेको देश अस्थिरताको भुमरीमा पर्नु हो । चुनाव गणतन्त्र तथा प्रजातन्त्रको गहना हो तर समयभन्दा अगाडि गरिने चुनाव देशको लागि आर्थिक रुपमा घाटा हो । यो कुरा नेकपाका दुवै खेमाले सम्झन र बुझ्न आवश्यक छ ।गत निर्वाचनमा करिब दुईतिहाइ मतसहित नेकपा एकताको प्रस्ताव अनुमोदित भएको हो । त्यो एकता समयको माग हो । एकताको चाहना नेपाली जनतामा पनि थियो । कारण राजनीतिक स्थिरता प्राप्त गर्ने चाहना । तसर्थ, पार्टी पूर्ण रूपले जनताप्रति प्रतिबद्ध र जवाफदेही बन्नुपर्नेमा पार्टी विभाजनको रेखा कोरिने यो दुर्भाग्यपूर्ण अवस्था हो । तर, यो अवस्था आउनुमा कुनै सैद्धान्तिक र गम्भीर राजनीतिक मतभेदले उत्पन्न भएको होइन, व्यक्तिगत टकरावले हो । पार्टीका शीर्षनेताहरूको स्वार्थ, आपसी असमझदारी, अन्तरविरोध र अहमले मात्र यो अवस्था सिर्जना भएको हो । अब नेकपा फुटेर होइन जुटेर जानुपर्छ ।

Top of Form

Bottom of Form