प्रेम अभिव्यक्तिको पराकाष्ठा भाव ‘यादमा’

तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक शिशिर योगीले आफ्नो लोकप्रिय गीत यादमा को भिडियो सार्वजनिक गरेका छन् l सर्जक/कलाकार योगीले आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi मार्फत शुक्रबार अपरान्ह सो भिडियो रिलिज गरेका हुन् l लोकेन्द्र बाबु राईको शब्दरचना र धुन सम्राट को उपनामले विभूषित लोकप्रिय सर्जक बीबी अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन एवं श्यामश्वेत रसाईलीको मिक्सिङ/माष्टरिङ रहेको यो गीत बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो l

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन/ सिनेम्याटोग्राफी र रङ्ग संयोजन रहेको छ भने भिडियो लोकेश भाटले सम्पादन गरेका हुन् l भिडियो मोडलिङको लक्ष भएका ईच्छुक प्रतिभाहरुले प्रस्तुत भिडियोमा अभिनय गरेर टिकटक बनाई Shishir Yogi फेसबुक पेजमा पठाउन आग्रह गरिएको छ l टिकटक बनाउनेहरु मध्येबाट उत्कृष्ट एकजनालाई निकट भविष्यमै कुनै राम्रो गीतको भिडियोमा मोडलिङको अवसर दिईने कुरा समेत च्यानलमा उल्लेख गरिएको छ l

यादमा
गीत सङ्गीतका असल श्रोताहरुको लागि हो l गायकीमा माधुर्यता पान गर्न चाहने अनि सङ्गीत मिठासको उच्चतम् सौन्दर्यमा हराउन चाहनेहरुको लागि हो l गीतमा आफ्नी प्रियालाई हरक्षण, हरपल र हर अवस्थामा आफ्नै आँखा अगाडि देखिरहने चाहना व्यक्त गरिएको छ l जागृत र सुषुप्त दुबै अवस्थामा अनेक भाव र स्वरुपमा आफूमै समाहित रहन, झझल्कोमा आईरहन भनिएको छ l जीवनको कुनैपनि पलमा भौतिक-अभौतिक जुनसुकै अवस्थामा पनि आफ्नी प्रियाको सामिप्यता खोजिएको छ l कसैप्रतिको प्रेम अभिव्यक्तिको पराकाष्ठा भाव गीतमा महसुस गर्न सकिन्छ l