–डा. डीआर उपाध्याय
बलात्कारका घटना दिन प्रतिदिन बढ्दै जानु हाम्रो समाजको अगाडि तेर्सिएको गम्भीर चुनौति हो । कतिपय यस्ता घटना छिपिएका र दविएका पनि छन । बास्तविक दोषिलाई पक्राउ गर्न कठिन पनि भएको छ । हाम्रो देशमा पनि अरु देशमा जस्तो बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था हुनु पर्छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन् । बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन् । तर परिणाम के हुन्छ भने समयमै दोषि पक्राउ पर्दैन l समस्या यो हो ।
बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या, सर्वत्र चासो र चर्चाको विषय बनिरहेको बेला हिजो मात्र उनको हत्यारा सार्वजनिक गरिएको छ । यस घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको छ । विगतको निर्मला पन्तकै जस्तो घटना फेरि हाम्रो समाजमा दोहोरिए पनि भागरथी भट्टको हत्या आरोपी सार्वजानिक भएसँगै पीडित परिवारले न्याय पाउने आशा गरिएको छ । यस घटनाको अनुसन्धानमा राज्यले निकै तत्परता देखाएकोले छिटो सफलता प्राप्त भयो । नजिककै आफन्त र नातेदार, साथीसंगति र शंकास्पद व्यक्ति प्रहरीको अनुसन्धानमा आएको कारणले गर्दा दोषी पत्ता लगाउन सहज भएको बुझिएको छ । यस घटनाका साथै कुनै पनि घटनामा कानुनको कार्यान्वयन पक्ष फित्तलो हुनु हुँदैन । जसले गर्दा यस्ता अपराध र बलात्कारका घटना दोहोरिन पाउँदैनन् ।
अझैपनि हाम्रो समाजमा छोरी, दिदी, बहिनी कतै सुरक्षित छैनन् । आफ्नै बाबु, दाजु, भाइ, छरछिमेकी साथीबाटै हाम्रा छोरीचेलीको अस्मिता लुटिरहेको समाचार दिनौं आइरहन्छन् । यस्ता घटना सवै मिलेर नियन्त्रणमा ल्याउनु पर्छ । शान्ति सुरक्षाको दायित्व लिने नेपाल प्रहरीको प्रभावकारिता अझै बढेर जानु पर्छ । बलात्कारजन्य अपराध अनुसन्धानमा राज्यको अनुसन्धान प्रभावकारी ढंगले अघि बढनु पर्छ । कार्यान्वयन पक्ष व्यवहारमा लागु हुनु पर्छ । बैतडीकी किशोरी भागरथी भट्टकै बलात्कारपछिको हत्याको घटनाले सवैलाई फेरि झस्काएको छ ।
बलात्कारपछिको हत्या सबैभन्दा संवेदनशील अपराध हो । संवेदनशील यो अपराधको घटनाको अनुसन्धानले छिटो सार्थकता पायो l तर अपराधीलाई दण्डित गर्ने सवालमा कति सम्मको सार्थकता पाउँछ भन्ने चासोको विषय बनेको छ । अपराध र बलात्कारका यस्ता घटनाहरु कुनै पनि अन्योलपूर्ण बन्नु हुँदैन । अनुसन्धान सफल बन्न प्रारम्भिक अनुसन्धान त्रुटिरहित हुनु पर्छ । समाजमा बलात्कार हुनबाट रोक्न सवैभन्दा पहिला समाजमा जनचेतना जगाउनु पर्छ । जनचेतनाको अभावमा यस्ता घटनाहरु बारम्वार दोहोरिरहेका छन् । अब यस्ता घटनाहरु कुनैपनि बहानामा दोहोरिनु हुँदैन । तपाई हाम्रो समाजमा यस्ता किसिमका घटना घट्न दिनु हुँदैन र कथम कदाचित यस्ता घटना घटि हालेमा कसैले पनि दोषीलाई जोगाउने वा संरक्षण दिने जस्ता गलत काम गर्नु हुँदैन । यसले गर्दा अपराधीको मनोबल झन बढ्ने गर्छ । यस्ता गतिविधि रोक्नको लागि तपाई हामी सबै मिलेर समाजमा जनजागरण ल्याउनुपर्छ । राम्रा कुरा सिक्ने, असल नागरिक बन्र्ने कुरामा सवैको ध्यान जानु पर्छ । असल र सभ्य नागरिकले नै समाजलाई अघि बढाउछ ।