संसदीय व्यवस्थाको विडम्वना !

डा. डीआर उपाध्याय


पछिल्लो राजनीतिक घटनाक्रमले देश जटिल मोडतिर धकेलिएको छ । यो चिन्ताको विषय हो । केही समयदेखि मुलुक आर्थिक, राजनैतिक र संवैधानिक संकटमा छ । राजनैतिक परिवर्तन पछि पटक पटक नेताहरूले जनतालाई भर्याङ बनाएर सत्तामा जाने गरेका छन् । सत्तामा गएपछि सबै कुरा बिर्सने परम्परागत संस्कृतिको विकास भएको छ । यसले गर्दा पनि आम नागरिक दलप्रति असन्तुष्ट छन् । यसो हुनुमा दलहरु नै दोषी छन् । केपी ओली खेमाको नेकपाले चुनावी सभा गर्दै हिँडेको छ । चुनाव हुन्छ या हुँदैन त्यो भने भन्न सकिने अवस्था छैन ।

देश कोरोनाको कारण उत्पन्न समस्याले जेलिँदै गएको छ । गरिखाने वर्ग झन् पछि झन् गरिबीमा धकेलिँदै छन् । यस्तो बेलामा निर्वाचन गर्न खोजेर देशलाई आर्थिक संकटमा पार्न खोजिँदै छ । बजार अनियन्त्रित भइरहेका बेला बेमौसमको चुनावले आउँदा दिनको बजार कहाँ पुग्ला ? यो नै गम्भीर विषय हो । पैसा बिना चुनावमा उम्मेदवार बन्न पनि सकस परिरहेको अवस्था छ । जो सँग पैसा छ, उसैको हातमा टिकट थमाइदिने लामो समयदेखिको राजनैतिक प्रवृति अझै पनि कायम छ । पैसा नहुनेले झट्ट टिकट नै पाउँदैनन् l यदि टिकट पाइहाले पनि जित्ने संम्भावना अत्यन्त न्युन हुन्छ ।

संसदीय व्यवस्थामा चुनाव महँगो बन्दै गएको छ । विगतमा आफ्नो पार्टी र देशको निम्ती त्याग तपस्या गरेका विभिन्न पार्टीका नेताहरु पैसाको अभावले चुनावमा उठ्ने आँट गर्दैनन् । यस्तो छ संसदीय व्यवस्थाको विडम्वना । जबसम्म राजनीतिलाई समाजसेवाका रुपमा हेरिदैन तबसम्म यस्ता समस्याहरु बारम्बार दोहोरिरहन्छन् । देशलाई संकटबाट बचाउँन देशभक्त नेपालीहरु आफै जाग्नु पर्छ । देशको भविष्य सुधार्न सबै पक्ष इमान्दारीका साथ लाग्नु पर्छ । देशमा अधिनायकवाद वा त्यस्तै कुनैपनि तानाशाह टिक्न सक्दैनन् । कसैले त्यस्तो सोचेको छ भने त्यो केबल दिवा सपना मात्र हो ।

लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । यहाँ अरु कुनै विकल्प छैन । स्पष्ट खाका र मार्ग दर्शन दिन नसक्ने कुनै नेताको काम छैन । अब देशलाई क्षमतावान नेताको आवश्यकता परेको छ । अब अल्मलिने बेला छैन । देशलाई माथि उठाउँन सक्ने सक्षम र योग्य नेताको जरुरी छ । अब देश हाँक्ने राजनीतिक दल र तिनका नेताहरुको इमान्दारीताको खाँचो छ । नेकपालाई दुईतिहाइको बहुमत नपचेर संसद विघटन गर्यो । जसको कारणले देशमा धेरै समस्याहरु उत्पन्न भएका छन् । वर्तमान समयमा उत्पन्न राजनैतिक र संवैधानिक संकट समाधान गरी छिटो निकास खोजिनु पर्छ ।