अब देशलाई दूरदर्शी र विकासप्रेमी नेताको आवश्यकता

डा. डीआर उपाध्याय


यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा विघटनपछि केहि दलहरु प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन ।

आन्दोलन किन र के को लागी ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् । देशको हितमा छैन आन्दोलन । दलहरुका आन्दोलन कुर्सीका लागी हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरुले दिनु पर्छ । आन्दोलन नेताहरुको कुर्सीको लागी हो । वर्तमान समस्याको समाधान दलहरुले खोज्नु पर्छ । यो बहुमतप्राप्त सरकारले जनताद्वारा निर्मित प्रतिनिधिसभा भंग गर्न हुदैन्थ्यो । किनभने छँदाखाँदाको संसद् विघटन गरेर चुनावमा जानु भनेको देशलाई आर्थिक भार बोकाउनु हो ।

सरकार जनताप्रति उत्तरदायी हुन जरुरी छ । देश कोरोनाले ग्रसित भएको अवस्था छ । नेपाली जनता कसरी आफ्नो जीविकोपार्जन गर्ने भन्ने चिन्तामा छन । सरकार यस्तो अवस्थामा अर्बौं रुपियाँ खर्च गरेर चुनाव गर्ने तयारीमा छ । लोकतान्त्रिक पद्धतिअनुसार चुनावबाट दलहरु भाग्नु पनि हुदैन । अहिलेको स्थिति हेर्दा चुनावको बातवरण अझै बनेको छैन । सर्वोच्चले संसद् पुनर्स्थापना गरिदियो भने त्यो नै राम्रो । यदि निर्वाचनमै जानुपरे दलहरु तयार हुनु पर्छ । नेकपा दुई खेमामा विभाजित भए पनि कानुनीरुपमा फुटेको छैन । त्यसैले नेकपा सत्ता स्वार्थकै लागि मात्र फुटेको देखिन्छ ।

आमनिर्वाचनमा जनताले नेकपालाई झन्डै दुई तिहाइको बहुमत दिएका थिए । यस अवस्थामा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतालाई विश्वासघात गर्नु हुदैन्थ्यो । यति बेला ओली समूह एकातिर, दाहाल–नेपाल समूह अर्कातिर फर्किएर आपसमै आरोप–प्रत्यारोप गरिरहेका छन् । यति बेला नेपालको राजनीतिक अवस्था अस्थिर छ । त्यसैले भारत, चीन, अमेरिकाजस्ता राष्ट्रले आफू अनुकूल राजनीतिक वातावरण बनाउन सक्रिय रहेको देखिन्छ । युवापुस्ताहरुको राजनीतिप्रति नै वितृष्णा पलाएको छ । राजनीति भनेको देश र जनताको हक–अधिकारका लागि हुनुपर्छ । तर देशमा नेताहरुले सत्तास्वार्थको लागि मात्र राजनीति गरे । जसको कारण राजनीति फोहोरी खेलमा परिणत भयो ।

राजनीतिमा मौलाएको विकृति, विसंगति लाई नहटाए सम्म देश बनाउन सकिदैन । आम–युवापुस्तालाई राजनीतिप्रति उत्साह जगाउन पुराना पुस्ताका नेताहरुमा सुधार आउन जरुरी छ । अहिले नेपाली जनता अन्यौलमा छन् । नेताहरुले जति चर्का कुरा गरेपनि मुलुक बन्न सकिरहेको छैन । त्यसैले अब युवापुस्तालाई सत्ता सञ्चालन गर्ने अवसर दिनुपर्छ । देशमा भ्रष्टाचार बढिरहेको छ । जबसम्म देशमा निस्वार्थ भावनाका नेता तथा कर्मचारी हुदैनन् तबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन । अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता छ ।