भिडको राजनीति

डा. डीआर उपाध्याय


नेकपा दुई खेमामा विभाजित भएपछि यतिबेला भिडको राजनीतिले चर्चा पाउने गरेको छ । नेकपाका दुई खेमा माधव प्रचण्ड र ओली खेमा बिच भिड जम्मा गर्ने कडा प्रतिस्पर्धा चलेको छ । केही दिन अगाडि माधव प्रचण्ड खेमाले भिड जम्मा गरेर काठमान्डौँमा शक्ति प्रदर्शन गरेका थिए भने हिजो ओली समूहले पनि काठमान्डौँको नारायण हिटिको आँगनमा तामझामका साथ लाखौँको हाराहारीमा भिड जम्मा गरी शक्ति प्रर्दशन गरेका थिए । अब जनताले कुन खेमाको भिडलाई विश्वास गरेर कुन खेमालाई समर्थन गर्ने भन्ने कुरामा नै अन्योलमा छन् ।

देशका विभिन्न जिल्लाबाट काठमान्डौँमा मान्छे ओसार्ने र भिड देखाएर शक्ति प्रर्दशन गर्ने होडबाजीले कुन सक्कली नेकपा हो र कुन नक्कली नेकपा हो जनतालाई छुट्याउन नै मुस्किल भयो । केही समय अघिदेखि नेकपाका दुबै खेमाका नेता कार्यकर्ता बिच जुहारी चलिरहेको अवस्था छ । मञ्च पाए कि नेकपाका दुबै खेमाका शीर्ष नेताहरुले एक अर्कालाई आरोप प्रत्यारोप गरिहाल्छन् । नेपाल दाहाल समूहका शीर्ष नेताहरुले ओली समूहलाई ,ओली समूहले नेपाल दाहाल समूहलाई गाली गलौज गर्ने काम गरिरहेका छन् । नेताहरुले एक अर्का खेमा बिच गाली गलौज गरेर कस्तो राजनीतिक संस्कार बसाउन खोजेको हो ? युवापुस्ताका नेताले यी नेताबाट के सिक्ने ?

राजनीति भनेको विचार, नीति, सिद्धान्त बाट चल्छ । विचार, नीति, सिद्धान्त बिनाको राजनीति लंगडो हुन्छ । भिड जम्मा गरेर गरेको राजनीति दिगो हुन सक्दैन । त्यो जनतालाई भ्रम छर्ने काम मात्र हो । यस्तो राजनीति क्षणिक हुन्छ । नेकपाका दुबै खेमाका भिडले जनता अलमलमा छन् । यो अलमलले जनताले सही र गलत छुट्याउन सकिरहेका छैनन् । भ्रमको राजनीतिले अलि बढी मात्रमा सर्व साधरण जनता अन्योलमा छन् । नेताहरुको भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन् ।

चर्का चर्का भाषण गरेर जनतालाई भ्रम छर्ने दिन अब गए । अब जनता ती नेताका चर्का भाषण र आश्वासनमा विश्वास गर्ने वाला छैनन् । अहिलेको युग प्रविधि र सञ्चारको युग हो । यो युगमा जनतालाई ढाट्ने ,छलछाम गर्ने र भ्रमको राजनीति गर्ने युग होइन । अब जनता होइन, राजनीतिक दल र तिनका नेताहरु भ्रममा नपरुन ।