आम हड्ताल के को लागि ?

डा. डीआर उपाध्याय


नेपाल बन्द, हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पुर्याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी, विद्यार्थी, ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ । बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको आम हड्तालको कारण यस्ता घटना पुन नदोहोरिउन भन्ने हाम्रो चाहना हो ।

लोकतन्त्रमा शान्तिपूर्ण ढंगले सभा सम्मेलन, जुलुस गर्ने अधिकार सबैलाई हुन्छ । तर लोकतन्त्रले दिएको अधिकार भन्दै उशृङ्खल र अराजकता फैलाउने छुट भने कसैलाई छैन । सरकारले आम नागरिकको शान्ति, सुरक्षामा विशेष ध्यान दिन जरुरी छ । अत्यावश्यक कामका लागि हिडेका सवारी साधनमाथि आन्दोलनकारीले दुरव्यवहार र तोडफोड जस्ता अमानवीय काम हुनु भएन । आन्दोलनकारीले विगतमा सवारी साधनमाथि तोडफोड गर्ने, आगो लगाइदिने, ढुंगा मुढा गर्ने, बाटोमा टायर बाल्ने जस्ता उशृङ्खल काम गरेका थिए । आज हुने भनिएको आम हड्ताल बाट यस्ता खालका प्रवृति नदोहोरिउन । आम नेपाली जनता यी र यस्ता गलत प्रवृति बाट वाक्क दिक्क भै सकेका छन् ।

नेपाली जनताले सधैजसो हड्ताल, जुलुस, नेपालबन्द, चक्काजाम जस्ता अशान्ति निम्ताउने गतिविधि मन पराउँदैनन् । नेपाली जनताले दिगो शान्ति,सुशासन र विकास चाहेका छन् । यी तिन विषयमा नेपाली जनता जुनबेला पनि हातेमालो गर्न तयार छन् । जब सम्म देशमा दिगो शान्ति, सुशासन र विकास हुँदैन तबसम्म नेपाली जनताले दुःख पाइरहेका हुन्छन् । यो कुरा बुझ्न सबैले जरुरी छ । संसद विघटन पछि राजनीतिक दलहरू र नागरिक समाज सडक आन्दोलनमा छन् । सडक आन्दोलनले मात्र समस्याको समाधान हुँदैन, समस्या समाधानको लागि संवाद,सहमति र सहकार्य नै उत्तम बाटो हो । विगतमा पनि ठुला ठुला समस्याहरु संवाद,सहमति र सहकार्यबाट नै समाधान भएका प्रशस्त उदाहरण छन् । अब पनि त्यही बाटो अवलम्वन गरेर वर्तमान राजनीतिक समस्याको समाधान खोज्नु जरुरी छ ।