आज माघ १६ गते सहिद दिवस मनाईँदै

डा. डीआर उपाध्याय


हाम्रो देश नेपालमा आज माघ १६ गते सहिद दिवस मनाईँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने यो सहिद दिवस देशभक्त नेपाली जनताका लागि महत्वपूर्ण दिवस हो । यो दिवसमा नेपाली जनताले वीर सपूत तथा सहिदहरूलाई उच्चकोटीमा राखी उनीहरुले देश र जनताप्रति गरेको वलिदानको उच्च कदर गर्दै श्रदासुमन गर्नु उनीहरुप्रतिको वास्तविक सम्मान हो । जसले देश र जनताको मुक्तिको लागि हाँसी हाँसी आफ्नो वलिदानी दिन्छन् । त्यस्ता व्यक्तिलाई नै सहिद भनिन्छ ।

१०४ बर्षे तानाशाही राणा शासनको विरोधमा पर्दशन गर्ने युवाहरु शुक्रराज शास्त्री र धर्मभक्त माथेमा लाई फाँसी र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली प्रहार गरेर राणा शासकले हत्या गरेका थिए । देशमा राणा शासनको विरुद्धमा लडेका ज्ञात, अज्ञात सहिदहरुको वलिदानको उच्च मुल्याङ्न गर्दै उनीहरुले देश र जनतालाई देखाएको बाटो अनुकरण गर्न माघ १६ गते हामीले सहिद दिवस मनाउँदै आएका छौँ ।

देश र जनताका लागि वलिदानी दिने यस्ता वीर सहिदहरु हाम्रो देशमा हजारौंको संख्यामा छन् । उनीहरूले देश र नेपाली जनताका लागि आफ्नो प्राणको आहुती दिए । सहिदको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो । तर नेताहरुले मीठा भाषण गरेर मात्र सहिदहरूप्रति सच्चा श्रर्दाञ्जली हुँदैन । सहिदगेटमा गएर सहिदहरूको फोटोमा माल्यार्पण गर्दैमा, सहिदहरूका नाममा एकमिनेट मौनधारणा गर्दैमा, सहिद दिवसको सम्मान हुँदैन । वास्तविक सम्मान त तिनै सहिदका परिवार जो बिचल्लीमा परी दयनीय अवस्था गुजारिरहेका छन् तिनीहरुको उचित हेरविचार गर्नु नै सहिद दिवसको सार्थकता रहने छ ।

सहिदहरू सबैका साझा सम्पत्ति हुन्। यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु र कदर गर्नु हामी सबै नेपालीको कर्तव्य र दायित्व हो । मुलुकमा यस्ता सहिदहरूले बलिदानी नदिएको भए आज हामी नेपालीले जनअधिकार र स्वतन्त्रता पाउने थिएनौँ । सहिदहरू जसले आफ्नो देशको स्वतन्त्रताका लागि आफ्नो जीवनको बलिदान दिए त्यस्ता व्यक्तिहरूलाई उच्च सम्मान गर्न आवश्यक छ । आज हामी सबै नेपालीको प्रमुख दायित्व भनेको नै सहिदहरूको सपना साकार पार्नु हो । सहिदहरूको रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई हामी कसैले भुल्नु हुँदैन ।

Top of Form