दुईतिहाईको सरकार नफापेको हो कि लोकतन्त्र ?

डा. डीआर उपाध्याय


देशमा पाँचवर्षे जनादेश प्राप्त प्रतिनिधिसभा बीचमै विघटन गरी मध्यावधि निर्वाचन घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि राजनीतिक अस्थिरता बढेर गएको छ । पत्रपत्रिका र सामाजिक सञ्जालहरू गाली गलौजले भरिएका छन । नेकपाका दुवै खेमाका नेता र कार्यकर्ताबीच एकले अर्कालाई हिलो छ्याप्ने काम भएको छ । यो राम्रो संकेत होइन । यति बेला नेकपाका दुवै खेमाका शीर्ष नेताहरु तल्लो स्तरको गाली गलौज, बेइज्जती र पोल खोल्न व्यस्त छन । यसरी मुलुकको मुहार फेर्न सकिदैन । अहिले यी र यस्ता गतिविधिले पार्टी मात्र नभई प्राप्त उपलव्धि नै खतरामा परेको छ । हाम्रो देशलाई दुईतिहाईको सरकार नफापेको होकि लोकतन्त्र ?

नेपाली जनताले राजनीतिक स्थिरता, विकास र शान्ति चाहेका थिए । तर ऐतिहासिक अवसर मुलुक र पार्टीले गुमाउँदैछ । यतिबेला केही पार्टीहरु सडक आन्दोलनमा छन् । जसले गर्दा नेपाली जनताले फेरि दुःख पाएका छन् । देशमा रोजगारको अवसर नपाएर युवा पुस्तामा निराशा बढेको छ । देशभित्रै केही गर्छु भन्दै स्वाभिमानी सोच राख्ने युवाहरुको जीवन बर्बाद हुने संकेत देखिएको छ । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको देखिन्छ । यस्तो अवस्थामा चुनाव भयो भने देशको अर्थतन्त्र के होला ? सोच्नुपर्ने बेला आएको छ ।

छिमेकीहरू जहिले पनि नेपालमा अस्थिरता चाहन्छन् । अस्थिर राजनीतिले विगतमा नेपाललाई धेरै पछाडि पारेको थियो । अहिले पनि फेरि त्यही अवस्था दोहोरिदै छ । नेपालको राजनीतिक इतिहासमा कमै प्राप्त दुईतिहाईको नेकपाको सरकारले यस्तो अवस्था सृजना गरेपछि फेरि केका लागि बहुमत ? पार्टी फुट नेताहरूको सत्तास्वार्थ हो । यसमा सैद्धान्तिक आधार भेटिँदैन ।व्यक्तिगत स्वार्थपूर्ति गर्ने मौका पाएका नेता कार्यकर्ताहरू बाहेक तमाम लाखौँ कार्यकर्ताहरू अहिले पनि एकताको पक्षमा छन् । फुटेर चुनावमा जाँदा कुनै गुटले बहुमत पाउने छैनन् । यो कुरा नेपाली इतिहासले पुष्टि गर्दै आएको छ ।