अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता

-डा. डीआर उपाध्याय


अहिले हाम्रो देशको राजनीतिक, सामाजिक, आर्थिक एवं शैक्षिक अवस्था खल्बलिएको स्थिति छ । यसलाई सही बाटोमा ल्याउनका लागि राजनीतिक पाटो सही ठाउँमा आउन जरुरी छ । अझै पनि देशमा गरिबी, बेरोजगारी, अशिक्षा, विभेद, अभाव, पछौटेपन, भ्रष्टाचार, महँगी हटेको छैन । यसको मुख्य कारण राजनीतिक अस्थिरता हो । लामो समयसम्मको राजनीतिक लडाइँबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यता संस्थागत हुन सकेको छैन । देशमा भएका कुनै दल र तिनका नेताहरुले यी समस्याको समाधान गर्न सकेका छैनन् । देशमा पटक पटक भएका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीहरु यतिखेर धरापमा परेको अवस्था छ ।

देशमा प्रजातन्त्र आएको तीन दशकसम्म पनि देश र जनताका समस्याहरू ज्युका त्युँ रहेका छन् । यी परिवर्तनले नेता मोटाउने र जनता दुब्लाउने मात्र काम भएको छ । यो बाहेक अरु उपलब्धी हुन सकेन । यावत यी समस्याहरु उत्पन्न हुनुको जड राजनीतिक दल र तिनका नेताहरु मात्र होइनन् । त्यसको दोषी हामी समर्थन गर्ने जनता पनि जिम्मेवार छौँ । लामो समय देखि हामी जनता भ्रष्ट नेताहरूको पछि लाग्ने काम गरेका छौँ । तर हामीले उनीहरुबाट देश र जनताले केही लाभ लिन सकेन । नेताहरूले आफ्ना नातागोताको मात्र हेरविचार गर्दा पनि हामीले आवाज सम्म निकाल्न सकेका छैनौँ । अहिले सम्म जे जति राजनीति गतिविधि भैरहेका छन् यो नै यसको परिणाम हो ।

प्रजातन्त्रको पुनःस्थापना पछाडिको ३० वर्षको अवधिमा राजनीतिक दलहरू जुट्ने र फुट्ने शृंखला धेरै पटक भयो। अहिले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेका छन् । संसद विघटन पछि दलहरु ध्रुर्वीकरण भएका छन् । नेकपा दुई खेमामा विभाजित छ । एकले अर्कालाई कटाक्ष गरिरहेका छन् । शीर्ष नेताहरू नै अशोभनीय गालीगलौजमा उत्रिएका छन् । यो राम्रो कुरा होइन । दलका नेताहरूले राजनीतिलाई देशविकास र जनताको पक्षमा काम नगरी उनीहरुले व्यापार व्यावसाय बनाए । देश पछाडि पर्नुको मुख्य कारण यही नै हो । मुलुक आफैं बन्दैन । देश विकास गर्ने इच्छाशक्ति चाहिन्छ । सुशासन कायम गर्न सक्ने क्षमता चाहिन्छ । जनताको निराशा आक्रोशमा परिणत हुनभन्दा अगावै छल, कपट र स्वार्थको राजनीतिलाई त्यागेर देश र जनताको पक्षमा कामगर्न जरुरी छ । अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता नै देशका समस्या हुन् ।