नेपालको राजनीतिमा छिमेकीको चासो

-डा. डीआर उपाध्याय


अहिले मुलुकको राजनीति त्यति सहज ढङ्गले अघि बढ्न सकेको अवस्था छैन । मुलुक पूरै अन्योलमा छ । अब के हुन्छ कुनै टुङ्गो छैन । जनता निराश छन् । यो घटनाक्रमले छिमेकीको चासो बढेर गएको छ । प्रतिनिधिसभा विघटनको घटनालाई स्वदेशीले मात्रै नभएर दक्षिणी र उत्तरी छिमेकीले समेत बडो चासोको रुपमा हेरे्का छन् । आन्तरिक विवादमा विदेशीको अस्वाभाविक चासोले मुलुक भने प्रयोगशालाजस्तै बनेको छ । यो नै समस्या हो । नेपालका राजनीतिक दल र तिनका नेताहरु ठीक ढङ्गले अघि बढ्न सकेनन् । नेताहरु ढाँट्ने, छल्ने प्रवृत्तिका धेरै भए । जसले गर्दा समस्या बढेर गएको छ । राजनीतिक दल र तिनका नेताहरु नसुध्रिएसम्म विदेशीको चलखेल अन्त्य गर्न कठिन छ ।

मुलुकको हरेक राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष भूमिका रहेको थियो । नेपालको विकास तथा परिवर्तनसँग सम्बन्धित विषयमा निर्णय लिन नेपालका राजनीतिज्ञ आफैं सक्षम भइसक्दा पनि विदेशीको सहारा खोज्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको हो । यो कुरा सबैले बुझ्न जरुरी छ । छिमेकीलाई मात्रै दोष दिएर नेताहरु पन्छिन मिल्दैन । यो दोषका मुख्य भागीदार हाम्रै नेताहरू हुन् । छिमेकी रिझाउन नेताहरु सिपालु छन् । सत्तामा पुग्नका लागि जे पनि गर्न तयार छन् । सत्तामा टिकिरहन नेपाली राजनीतिज्ञले कोसिस गरिरहेका हुन्छन् । मुलुकमा ठूलाठूला आन्दोलन नेपालीकै बलमा सम्पन्न भएका थिए र वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र बिदा गरेर गणतन्त्र ल्याउने अभियानको नेतृत्व पनि नेपालीले नै गरेका थिए । यो यथार्थ कसैले पनि बिर्सनु हुँदैन । अब पनि विदेशीको बलमा सत्ता टिकाइराख्न सकिन्छ भन्ने भ्रम सबै दलका नेताले त्याग्नुपर्छ ।

नेपालको राजनीतिमा दक्षिणी छिमेकीको चासो अलि बढी हुने गर्छ । पछिल्ला दिनमा अर्को नजिकको छिमेकी चीनको चासो पनि उत्तिकै बढेर गएको छ । दुबै मुलुकका प्रतिनिधिको सक्रियतालाई हेर्दा नेपालको राजनीति अन्योलमा छ । पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वमा चार सदस्यीय टोली नेपालमा आयो । टोलीले राष्ट्रपति, प्रधानमन्त्रीसहित मुख्य दलका जिम्मेवार नेतालाई भेटेको छ । यो भेटको मुख्य उद्देश्य भनेको औपचारिक रूपमा फुटको घोषणा हुन मात्र बाँकी रहेको नेकपालाई जोड्न सकिन्छ कि भन्ने नै हो । विदेशीको सहारामा टिकेको सत्ताले स्वदेशको हित गर्दैन । नेपालको राजनीतिमा विदेशीको अनावश्यक हस्तक्षेप हुने क्रम अझै रोकिएको छैन । नेपाली राजनीतिमा भारत, चीन, अमेरिका, लगायतका मुलुकको चासो सधैं रहिरहेको छ ।