नेपालमा चीन र भारत दुबैको चलखेल

डा. डीआर उपाध्याय


यतिबेला नेपालमा चीन र भारत दुबैको चलखेल बढेर गएको छ । राजनीतिक दलको आन्तरिक विवादमा विदेशी शक्तिको हस्तक्षेप बढ्नु उचित होईन । यसले नेपालको राजनीतिलाई नै प्रभाव पार्छ । नेपालले कुनैपनि बिदेशी हस्तक्षेप सहेर बस्न सक्दैन र सहनु पनि हुँदैन । अहिले बिदेशी चलखेल बढ्नु भनेको नेकपाभित्रको विवाद नै मुख्य बिषय हो । त्यसको असर देशको राजनीतिमा परेको छ । अहिले संसद् विघटन भएको अवस्था छ । संसद बिघटन पछिको अवस्था जटिल बन्दै गएको छ । संसद बिघटन हुँदा सबैभन्दा बढी प्रसन्न राजावादीहरू छन् । उनीहरु धमिलो पानीमा माछा मार्ने दाउ खेल्दै छन् । मधेसवादीहरूले संसद् विघटनको विरोध गरेका छन् । त्यसको पुनर्स्थापनाका पक्षमा आन्दोलन पनि गरिरहेका छन् । संसद् विघटनपछि बिभिन्न राजनीतिक दलहरुले ओली कदमलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भनेर विरोध गरेका छन् ।

नेकपाभित्रको फुट वा विभाजन लोकतन्त्रका लागि खतरा हो । किनभने ठूलो पार्टी फुट्नु भनेको लोकतन्त्र कमजोर हुनु हो । देश गम्भीर संकटको मुखमा छ । माधव – प्रचण्ड पक्ष, नेपाली कांग्रेस र मधेसवादी दल आन्दोलनमा छन् । नेकपाभित्र देखापरेका विवादप्रति चीन र भारतले सुरुदेखि नै चासो राख्ने गरेका छन् । त्यो क्रम अहिले पनि कायम छ । चीन र भारतका साथै अमेरिकाको कूटनीतिले पनि नेपालको राजनीति वा नेकपाभित्रको विवादलाई प्रभावित पार्न खोजेको प्रस्ट छ । भारतले नेपालमा आफ्नो एकाधिकार कायम गर्ने, सीमा अतिक्रमण गर्ने, नेपालको भूमिमाथि कब्जा गर्ने, नेपालको पारवहनलाई अवरुद्ध गर्ने, नाकाबन्दी गर्ने, तराईको विखण्डनका लागि पृथकतावादीलाई प्रोत्साहित गर्ने, नेपालको व्यापार, उद्योग, कृषि आदिलाई आफ्ना स्वार्थअनुरूप नियन्त्रण गर्न प्रयत्न गर्ने, प्रशासन र सुरक्षा क्षेत्रमा समेत हस्तक्षेप गर्ने भारतीय नीति छ ।

नेपालको नागरिकतासम्बन्धी नीतिलाई खुकुलो बनाएर भारतीयलाई ठूलो संख्यामा नेपालको नागरिक बनाउँदै लैजाने भारतको योजना छ । अन्त्यमा नेपाललाई फिजी र भुटानको बाटो हुँदै सिक्किम बनाउने उसको रणनीति छ । भारतको त्यसप्रकारको नीति स्पष्ट र निश्चित रूपले नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका विरुद्ध छन् । नेकपाभित्रको विवादलाई चीन र भारत दुबैले आ आफ्नो प्रकारले प्रभावित गर्न खोजिरहेका छन् । चीनले पहिलेदेखि नै नेकपाभित्र एकता कायम गर्न प्रयत्न गर्दै आएको थियो । नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको बेलामा पनि चिनियाँ राजदूतले एकता कायम गराउन प्रयत्न गरेकी थिइन् । तर त्यो प्रयत्न सफल भएन । अन्तमा नेकपा फुट्यो । यसमा भारतको प्रभाव बढ्यो । नेकपामा एकताका लागि थप प्रयत्न गर्न उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल अहिले नेपालमा आएको छ । तर उसको थप प्रयत्न सफल हुने संकेत देखिदैन ।