जनमतको अपमान

-डा. डीआर उपाध्याय


देशमा अशान्तिका रेखाहरु कोरिदैछन् । लामो समयको द्वन्द्व पछि नेपालमा शान्ति कायम भएको थियो । अहिले फेरि अशान्ति हुने हो कि  भनेर आम जनता चिन्तित छन् । जनताको भाग्य र भविष्य अन्योलमा छ । सत्तारुढ दलभित्रको किचलो अन्ततः फुटमा गएर टुङ्गियो । सत्तारुढ दल विभाजन हुँदा मुलुकमा संकट उत्पन्न हुन थालेको छ । संसद विघछन पछिको अवस्था जटिल बन्दै गएको छ । नेपाली जनताहरु सत्तारुढ दल विभाजन भएकोमा खुसी छैनन् । जनता निरास छन् । यतिबेला जनता निरास हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । अहिले सडकमा धेरै थरिका समूहहरु आन्दोलित छन् । आन्दोलनले समस्या समाधान गर्ने होइन । द्वन्द्व निम्ताउने खतरा बढेर गएको छ ।

संसद विघटन विरुद्ध जनता समाजवादी पार्टीले समेत सडकमा प्रदर्शन गरिरहेको छ । मधेसमा आन्दोलन भयो भने ठूलो खतरा हुन्छ । प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहद्वारा पुनस्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने जसपाको अडान छ । सबैलाई सडकमा आउन जसपाले आग्रह गरेको छ । माधव–प्रचण्ड समूहले पनि आनदोलनको आँधीबेरी सृजना गर्ने बताउदै आएका छन् । नेपाली काँग्रेसले पनि आन्दोलन गर्ने भनेको छ । यसले के जनाउँछ भने देशमा अब अशान्ति सृजना हुँदै छ । देशको राजनीतिक अवस्था त्यति सहज ढङ्गले अघि बढ्ला जस्तो देखिदैन । देशका विभिन्न ठाउँबाट आन्दोलन उठ्ने संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक छ भन्दै विपक्षी दलहरु सडकमा आएपछि समस्या झन् बढेर गएको छ । यसको समस्या समाधान कसरी गर्ने, संवाद सहमती र सहकार्यको बाटो रोज्ने कि नरोज्ने ? यी विषयमा गम्भिर बन्नु पर्ने आवश्यकता देखिएको छ ।

यतिबेला जनता धेरै समस्यामा छन् । कोरोनाको प्रभाव अझै आम नागरिकमा छ । यस्तो अवस्थामा दलहरु भित्रको विवादले समस्या निम्ताएको छ । सत्ता स्वार्थको राजनीतिले नेपाली जनताको भाग्य र भविष्य अन्योलमा धकेलिएको छ । देशमा धेरै परिवर्तन आए तर नेपाली जनताको जीवनमा कुनै परिवर्तन आउन सकेको छैन । हिजो जनताको अवस्था जस्तो थियो आज पनि त्यस्तै छ । जनताको नाममा राजनीति गर्नेहरुले बेइमानी गर्दे आएका छन् । जनताको विश्वासमाथि कुठाराघात गरिराखेका छन् । देशमा विकास, समृद्धि र सुशासन कायम होला भनेर जनताले नेकपालाई झन्डै दुई तिहाइको बहुमत दिएका हुन । पुरा अवधि पुरा नगर्दै संसद विघटन गरेर प्रधानमन्त्रीले जनताको अपमान गर्नु भएको छ । आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि सिंगो मुलुकलाई बन्धक बनाउनु उचित कुरा होइन । जनता सडकमा आउन सक्छन् । जनतामा देखिएको असन्तुष्टि खतराको संकेत हो । हाल आएर जनतामा असन्तुष्टि देखिएको छ ।