नेपालको राजनीति धमिलिँदै

डा. डीआर उपाध्याय


यतिबेला नेपालको राजनीति धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउ खेल्नेहरु पनि प्रशस्त छन् । उनीहरुको चाहना धमिलो पानीमा माछा मार्नु हो । मुलुकको असहज परिस्थितिकाबीच प्रतिगामी तत्वहरुले टाउको उठाउँदै छन् । मुलुकलाई अझै पछाडि धकेल्नेहरु पनि छन् । तिनीहरुबाट परिवर्तनकारी र लोकतन्त्रवादी शक्तिहरु सचेत र जागरुक बन्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी समस्याहरु उब्जिएका हुन् । प्रचण्ड – नेपाल समूह एकातिर, ओली समूह अर्कोतिरको भिडन्त सिर्जना गर्ने स्थिति आएको छ । प्रचण्ड- नेपाल समूहले सडक संघर्षबाटै संसद पुनर्स्थापना गर्ने चुनौती दिँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिनका लागि सबै लोकतन्त्रवादीहरु चुनाबमा जानुपर्ने बताईरहेका छन् । सबै राजनीतिक दल र तिनका नेताहरुका आ-आफ्नै दाउपेचमा छन् ।

कुनैपनि राजनीतिक दल र तिनका नेताहरुले देश र जनताको पक्षमा काम गर्न सकेको देखिएन । उनीहरुले देश र जनताको नाम बेचेर राजनीति गरे । चुनाब जितेर जननिर्वाचित भए अनि सरकारमा पुगेपछि जनताका सबै समस्याहरु बिर्सिए । नेताको पछि लागेर आफ्नो जीन्दगी बर्बाद गर्नेहरुको लर्को पनि छ । टाठाबाठाहरुले राजनीतिकै नाममा र नेताको पछि लागेर व्यक्तिगत सम्पती थुपारेको प्रमाणहरु प्रशस्त भेटिन्छन् । नेतादेखि कार्यकर्ता सम्मको सम्पति अकुत छ । सम्पति छानबिन गर्ने हो भने कोही पनि चोखो भेटिदैनन् । जो बढी भ्रष्ट छ उसैको चर्को स्वर हुन्छ । उनीहरु नै चर्का चर्का भाषण गर्दै हिंड्छन् । अब नेपाली जनता नेताहरुका भाषण सुन्ने पक्षमा छैनन् । नेताका काम गराइ भन्दा भाषणले जनताहरु वाक्क दिक्क भएका छन् । अब जनताले भाषण होइन परिणाम चाहेका छन् ।

अहिलेका नयाँ पुस्ता राजनीतिप्रति आकर्षित छैनन् । २०४६ सालपछि केही समय युवाहरु राजनीतिमा बढी आकर्षित थिए । राजनीतिमा चासो देखाउँथे । विस्तारै राजनीतिको प्रभाव जनमानसका सकारात्मक भन्दा नकारात्मक धेरै देखियो । स्वदेशमा रोजगारीको अवसर नपाएर लाखौँ युवायुवती विदेश पलायन छन् ।पढेलेखेका शिक्षित युवायुवती विकसित देशमा र कम पढेलेखेका युवायुवती खाडी मुलुकमा राप र तापसँग आफ्नो श्रम बेचिरहेका छन् । यी सबै समस्या आउनु भनेको देशको राजनीतिले सही बाटो लिन नसक्नु हो । नेपालमा नेकपाको नेतृत्वमा झन्डै दुई तिहाइ बहुमतको सरकार छँदाछँदै संसद विघटन गरेपछि अझ बढी राजनीतिक अन्योलता छाएको छ । यसको निकास के कसरी खोज्न सकिन्छ भन्ने कुरामा सबैको चिन्ता र चासोको विषय बनिरहेको छ । यो अवस्थामा मुलुकले छिट्टै निकास पाउने स्थिति देखिदैन ।

Top of Form