अन्ततः नेकपा जोगिन सकेन

-डा. डीआर उपाध्याय


अन्ततः नेकपा फुट्ने नै भयो । कसैले चाहेर पनि यो पार्टी जोगाउन सकिने अवस्था देखिएन । अहिले दुबै पक्षतिर आफ्ना आफ्ना समूहका बैठकहरु डाकीरहेका छन् । यसले के जनाउँछ भने अब नेकपा सग्लो रहेन । प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रिय कमिटिको बैठक बोलाएर प्रचण्ड समूहका नेताहरुलाई कारवाही गर्ने भनेको छ भने उता अर्का पक्ष प्रचण्ड समूहले पनि केपी समूहलाई कारवाही गर्ने बताएको छ  । अहिले दुबै पक्षका नेता तथा कार्यकर्तामा तानातानको अवस्था सृजना भएको छ । एक पक्षले आफ्नो पक्षमा पार्न खोज्ने र अर्को पक्षले पनि आफ्नो पक्षमा पार्न खोज्ने प्रतिस्पर्धा चलेको दृश्य देखिन्छ । नेकपा विभाजनबाट आम जनता खुसी छैनन् । निरास र हत्तोसाहित भएका छन् ।

जनताले सुरुआती दिनमा निकै भरोसा र आशा गरेका थिए नेकपाबाट तर जनताले सोचे जस्तो नहुँदो रहेछ । यतिबेला जुन जोगी आएपनि कानै चिरेका जस्तो उखान चरितार्थ भएको छ । सुबिधाजनक सङ्घीय संसदमा झन्डै दुई तिहाइको सरकार रहँदा पनि देश र जनताको पक्षमा लोकप्रिय काम गर्न नसकेर आन्तरिक विवादमा पार्टी पर्दा यो समस्या उत्पन्न भएको हो । यो सत्ता स्वार्थको खेल हो । यहाँ सबैकुरा सत्ता स्वार्थभित्र लुकेको छ । आफू सत्तामा पुग्दा सबै ठिक हुने, आफू सत्तादेखि बाहिर हुँदा सबै बेठिक हुने यो राजनीतिक दल र तिनका नेताहरुको परम्परादेखिको रोग हो । यस्तो प्रवृत्तिले मुलुकलाई हित गर्दैन । मुलुकको भाग्य र भविष्य निर्माण गर्न नखोज्नुको परिणाम हो यो ।

संसद विघटन पछिको यो अवस्था के कसरी अगाडि बढ्छ सबैको चासोको विषय बनेको छ । मध्यावधि निर्वाचनको मिति त तोकिएको छ तर निर्वाचन हुन्छ या हुँदैन त्यसमा पनि प्रश्न उठिरहेका छन् । दलहरु सहभागी नभएको निर्वाचनमा कुनै अर्थ रहने छैन । दलहरु निर्वाचनमा सहभागी नहुने विघटित संसद नै व्युताउने दौडधुपमा लागेका छन् । आम जनता कसका कुरा सही र गलत हो भनी छुट्याउनै नसक्ने अन्योलमा परेका छन् । अब नेताहरु हारुन् तर देशले जितोस् भन्ने आम नागरिकको भनाई छ । नेताले हार्दैमा केही फरक पर्दैन तर देशले हार्यो भने धेरै कुरामा प्रभाव पर्छ । अब यो देश जोगाउनको लागि पनि सबै न्यायप्रेमी, देशप्रेमी र सचेत नागरिकहरु जाग्नुपर्ने अवस्था सृजना भएको छ । त्यसैले भनिन्छ,राजनीति भनेको फोहोरी खेल हो । नेताको प्रवृत्ति, अहंकार र संस्कृतिले पनि यही कुरा पुष्टि गरेको छ ।