अब दलहरु नसच्चिए मुलुक बन्दैन

डा. डीआर उपाध्याय


अहिलेको सरकारको मुख्य कार्यभार भनेको देशको विकासलाई गति दिनु हो । देशको विकास के कसरी गर्न सकिन्छ भन्ने कुरा सबै बिज्ञहरुसँग सरसल्लाह र सुझाब लिएर सरकारले काम अघि बढाउनु पर्छ । देशको विकास समृद्धि र सुशासन कायम भयो भने सडकमा ढुङ्गा हान्न कोही आउँदैनन् । सडकमा देखिएको असन्तुष्टि भनेको गरिबी अभाव र बेरोजगारी समस्याले गर्दा हो । मानिस काममा ब्यस्त हुने वातावरण निर्माण हुन थाल्यो भने को आउँछ सडकमा प्रर्दशन गर्न ?  काम नपाएका बेरोजगारीहरुको भिड नै सडक तताउने माध्यम बनेको छ । हामीले बेरोजगारी समस्या समाधान गर्ने कुरामा कहिल्यै पनि ध्यान दिन सकेनौँ ।

अहिले विश्वब्यापी कोरोना भाइरसले संसारलाई नै आक्रान्त बनाएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरसको कारणले लामो समय लकडाउन भयो । मान्छेहरुले आफ्नो पेसा ब्यवसाय चलाउन पाएनन् । त्यसको असर अझै परिरहेको छ । मुलुकको आर्थिक अवस्था पनि चलायमान हुन सकिरहेको छैन । आम नागरिक पीडादायी अवस्थामा बाँच्न बाध्य छन् । सरकारी तलब भत्ता खाने बाहेकको समस्या अझै पनि यथावत छ । जनताले तिरेको करबाट देशको शासन सत्ता चल्छ । त्यही करबाट सरकारी कर्मचारी, सांसद, मन्त्री केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म जनप्रतिनिधि पालिएका छन् । जनताले तिरेको कर सही रुपमा सदुपयोग भयो वा भएन भन्ने विषयमा भने अझै प्रश्न उठिरहेको छ ।

भ्रष्टचार रोकिएको छैन ।  कमिसन तन्त्र, दलाल र बिचौलियाको बिगबिगी नै छ । यसले गर्दा देशको भविष्य पछाडि धकेलिएको छ । मनपरि तन्त्रले देशलाई निकास दिन सक्दैन । अब मुलुकले निकास पाउनु पर्छ । सत्तारुढ दलभित्रको विवाद अन्त्य गरेर पनि सरकारले मुलुकको भविष्यप्रति ध्यान केन्द्रित गर्नुपर्छ । मुलुकलाई सही गति दिने हो भने पार्टीभित्र विवाद हुनु हुँदैन । पार्टी विवादले देशमा समस्या उब्जाएको छ । यी यावत समस्या समाधान गर्न सरकार गम्भीर हुनु पर्दछ । अहिले देशी, विदेशी शक्तिहरु पनि नेपालमा चलखेल बढाईरहेका छन् । यस्तो अवस्था आउनु भनेको सत्तारुढ दलभित्रको आन्तरिक विवाद नै प्रमुख विषय हो । नेकपाले आन्तरिक विवाद छिटो समाधान गर्ने बाटोतर्फ अघि बढ्नु पर्छ । पद, पैसा र शक्ति नहेरेर एकपटक जनताको मुख हेर्नुपर्ने अवस्था आएको छ ।

नेकपाभित्रको विवाद देखेर कुनैपनि जनता खुसी छैनन् । आम नेता कार्यकर्ता चिन्तित छन् । विपक्षी दल काङ्ग्रेसले समेत यो पार्टी फुट्नु हुँदैन । पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्छ भनिरहेको छ । सत्तारुढ दल विभाजन हुनु हुँदैन । यदि विभाजन भै हाल्यो भने लोकतन्त्रलाई खतरा छ । अहिले नेपाली काङग्रेसको देशब्यापी सरकार विरोधि प्रदर्शन भैरहेका छन् । यो सरकारलाई सच्चिनको लागि दवाव दिइएको हो । दलहरु र तिनका नेताहरु नसच्चिएसम्म मुलुकले सही बाटो लिन सक्दैन । मुलुक सुधार गर्ने हो भने सबैभन्दा पहिला नेतृत्ववर्ग सुध्रन आवश्यक छ । झुटा कुरा गरेर मात्र हुँदैन । जनतालाई काम गरेर देखाउनु पर्छ । जनताले आस्वासन खोजेका होइनन् । परिणम खोजेका हुन् । हिजो जनतालाई आस्वासन दिएका कुरा कार्यान्वयन भएको देखिदैन । हो, जनताले खोजेको त्यही हो । राजनीतिक दल र तिनका नेताहरुले जनतालाई आस्वासन मात्र दिने होइन, आस्वासनलाई कार्यान्वयन गरेर देखाउनु पर्छ । जनताका पिरमर्का बुझ्ने सरकारको आवश्यकता छ ।