चिसो मौसम : आफ्नो सुरक्षा आफैं गरौं

-डा. डीआर उपाध्याय


विगत नौ महिनादेखि नेपालमा फैलिएको कोरोना सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । यसले आम नागरिकलाई आक्रान्त बनाईरहेको छ । नेपालमा जाडो मौसम सुरु भैसकेको छ । यो समयमा चिसोका कारण रुघा, खोकी, निमोनिया जस्ता रोगहरुको प्रकोप बढ्ने गर्दछ । यस्तो मौसममा विशेषगरी बालबच्चा र वृद्धवृद्धाहरुलाई रोगले छिटो आक्रमण गर्ने हुँदा विशेष सावधानी अपनाउन जरुरी देखिन्छ । यस्तो अवस्थामा तपाई हामी सावधानीपूर्वक कोरोना सङ्क्रमण हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ । यो नै मानवीय धर्म र कर्तब्य हो ।

सरकारले कोभिड–१९ सङ्क्रमण नियन्त्रणको अवस्थामा नपुग्दै बढी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ । यस्तो अवस्थामा आफ्नो सुरक्षा आफै गरौँ । यो भन्दा अर्का कुनै विकल्प छैन । नेपालमा दोस्रो चरणको सङ्क्रमण बढ्नसक्ने चेतावनी विज्ञले दिएका छन् । यस्तो जोखिमपूर्ण अवस्थामा पनि सरकारले बिना तयारी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ । यद्यपि नेपालमा कोरोना सङ्क्रमण दर बढेपनि यसका कारण हताहत हुनेको संख्या जति आँकलन गरिएको थियो, त्यसअनुसार देखिन्न । यो सकारात्मक पक्ष हो । तर, यसले कुनैपनि बेला जोखिम बढ्ने त्राश भने हटिसकेको छैन ।

ललितपुर स्थित जाउलाखेलको भिडभाड हुने चिडियाघर गत बिहीबारदेखि खुला गरिएको छ । पछिल्लो समयमा आएर अधिकांश स्थानीय तहले विद्यालय खुला गरिसकेका छन् । र बाँकी खोल्ने तयारीमा रहेका छन् । सरकारले खुला गर्न अनुमति दिएका क्षेत्रमा प्रभावकारी अनुगमन गर्नुपर्ने देखिन्छ । यसअघि खुलेका सार्वजनिक साधनमा यात्रुहरु मास्कबिना नै क्षमता भन्दा बढी सवार भएका देखिए । पार्टी प्यालेसमा सयौंको जमघटमा भोजभतेर भइरहेका छन् । अधिकाशं मानिसले एउटै माक्स हप्तौँ सम्म प्रयोगमा ल्याएको देखिन्छ । जुन स्वास्थ्यको दृष्टिकोणले हानिकारक हो ।

यता कतिपय विद्यालयले स्वाथ्य मापदण्डबिनै पढाइ धमाधम सञ्चालन गरिरहेका छन् । बजार, सपिङ मलहरु सबै खुलिसकेका छन् । होटल व्यवसाय, बजार, सपिङ मलहरु सबै खुलिसकेको अवस्था देखिन्छ । अब केही दिनमा खुल्न बाँकी रहेका सिनेमा हल र थिएटर खुला गर्ने तयारी भइरहेको अवस्था छ । अहिले सरकारले कोरोना परीक्षणको दर घटाएको छ । त्यसकारण सङ्क्रमितको संख्या घट्दै गएको देखिन्छ । कोरोना सङ्क्रमण बढ्न सक्ने खतराको घण्टी टरिसकेको अवस्था भने छैन । हामी कसैले पनि कोरोनालाई सामान्य रूपमा लिनु घातक हुन सक्छ ।