ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण सङ्क्रमण बढ्न सक्छ

डा. डीआर उपाध्याय


काठमाण्डौ उपत्यकामा फोहोरमैला ब्यवस्थापन सहज रुपमा हुन सकेको अवस्था देखिदैन । यो काठमाण्डौ महानगरपालिकाको लागि चुनौतीको विषय हो । काठमाण्डौ उपत्यकाका अधिकांश भूभागमा फोहोरका थुप्राहरु देखिन्छन् । यसले आम उपत्यकाबासीलाई दुर्गन्धित बनाई रहेको छ । यसप्रति सरोकारवाला निकाय किन मौन ? यतिबेला उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्था छ । यस विषयमा सबै गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ । फोहोर मैलाको कारणले गर्दा पनि सङ्क्रमण बढ्न सक्छ ।

जाडो मौसममा कोरोनाको जोखिम बढ्ने स्वास्थ्यविद्ले बताइरहेका छन् । यस्तो अवस्थामा तपाई हामी आजैदेखि सचेत हुनुपर्ने जरुरी देखिएको छ । विगत नौ महिनादेखि बन्द स्कुल कलेज खोल्न सक्ने वातावरण पूर्ण रुपमा बन्न सकेको अवस्था छैन । पहुँच र सुगम ठाउँका विद्यार्थीहरुले मात्र भर्चुअल कक्षाको उपयोग गरिरहेका छन् । दुर्गम र विपन्न वर्गका विद्यार्थीहरु शिक्षा लिनबाट बञ्चित छन् । यसको मुख्य कारण् कोरोना कहर नै हो । यस्तो बेलामा बन्द भएका स्कुल, कलेज खोल्न उचित हुन्छ या हँदैन गम्भीर प्रश्न उठिरहेको छ । यो विषयमा स्वास्थ्य विज्ञले तत्काल बन्द स्कुल, कलेज नखोल्न सुझाब दिएका छन् । यदि तत्काल खुलेमा सङ्क्रमणको जोखिम बढ्न गई कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । त्यस कारणले गर्दा तपाई हामी आम नागरिकले सर सफाइमा ध्यान दिनु पर्छ । फोहोर मैलाको कारण सङ्क्रमण बढ्न जाने हुनाले जथाभावी फोहोर नफाली उचित ठाउँमा मात्र फाल्ने बानी बसाउनु पर्छ ।  यो नै सभ्य नागरिकको कर्तब्य र दायित्व हो ।

काठमाण्डौ उपत्यकाका नदी किनारमा अझैपनि फोहरमैला फाल्ने काम रोकिएको छैन । किन काठमाण्डौ उपत्यका भित्रका नागरिक पूर्ण रुपमा यस विषयमा सचेत छैनन् ? मलाई प्रश्न गर्न मन लाग्यो । यसरी हेर्दा नागरिकले फोहरका पोका, प्लास्टिक, मृत जनावर, ढल लगायतका फोहरजन्य वस्तुहरू नदीमा फ्याँक्दै जाने हो भने जति प्रयास गरे पनि उपत्यकाका नदी किनार सफा हुने देखिँदैन । कुनैपनि कार्यक्रम सफल बनाउनका लागि राज्य र नागरिकको सामूहिक सहभागिता आवश्यक हुन्छ । एउटा नागरिक आफैं सचेत भएर आफ्नो टोल, छिमेक, गाउँ, ठाउँ वा सहर आफैं बनाउने वा सफा राख्ने बानी बसाल्नु पर्छ । ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण सङ्क्रमण बढ्न सक्छ ।