सरकार किन संसद छलिराखेको छ ?

-डा. डीआर उपाध्याय


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य अब के हुन्छ ? यो प्रश्न धेरैले गर्न थालेका छन् । राजनीतिक दलमा विवाद, मतभेद र झगडा हुन्छ ।  यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।  तर यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नीति, बिचार , सिद्धान्त बिनाको विवाद,  मतभेद र झगडा भएको छ । नेकपामा कुनै सैद्धान्तिक विषयमा विवाद भएको देखिँदैन । यो झगडा भनेको सत्ता स्वार्थको झगडा हो । देश र जनताको पक्षमा नेकपा गम्भीर हुन सकेन । यो नै समस्या हो । आम नेपाली जनता नेकपाभित्रको आन्तरिक झगडा देखेर निराश छन् । जनता निराश हुनु भनेको ब्यवस्थाप्रति प्रश्न उठ्नु हो । यो कुरा नेकपाले बुझन जरुरी छ ।

यतिबेला कोरोना कहरबाट जनता आहत छन् । तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बस्नु भनेको राम्रो कुरा पटक्कै होइन । अब सोच्नुपर्ने बेला भएको छ । देशमा यत्रो संकट आउँदा नेकपाले गरिबप्रति कुनै सहानुभूति देखाएको छैन । सर्वहाराको कुरा गर्ने तर ब्यवहारमा कुनै कुरा लागू नगर्ने यो नेकपाको समस्या हो । कोरोना तीव्र भएको मुलुक अमेरिकामा राष्ट्रपतिको चुनाव भयो । छिमेकी भारतको बिहारमा पनि चुनाव भयो । अन्य युरोपेली मुलुकमा पनि चुनाव भएका छन् । तर हाम्रो मुलुकमा संसद्को अधिवेशनसम्म बस्दैन । यो के हो ?  जनताको आवाज उठाउने थलो नै अवरुद्ध छ । विगत ६-७ महिनादेखि संसद्को अधिवेशन भएको छैन । सरकार र सत्ताधारी दल संसद् अधिवेशन बोलाउने पक्षमा छैनन् ।

सरकारबाट भएको गलत कामकारबाहीबारे प्रश्न उठाउने थलो भनेको संसद् हो । अव संसद अधिवेशन बोलाउनु पर्छ । सरकार किन संसद् छलिराखेको छ ? यो आम जनताको प्रश्न हो । नेपाली कांग्रेस पनि मौन छ किन ? नेपाली कांग्रेस मौन बस्दा सत्ताधारी दलले मनपरी गरिराखेको छ । अहिले देशमा भइरहेको भ्रष्टाचारप्रति सत्ताधारी मात्र होइन, प्रतिपक्ष पनि मौन छ। उपचार र खान नपाएर जनता मरिरहेका छन् । नेकपा र सरकारको यही झगडा र कांग्रेसको मौनताले व्यवस्थाप्रति नै सर्वसाधारणको वितृष्णा पैदा भएको छ । लोकतन्त्रविरोधी शक्ति सल्बलाउन थालेका छन् ।