आफ्नै पनको सुगन्धमा हराउँदै गीतकार मणिराज


काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर-५ फर्पीङ, डोल्लुमा जन्मिएका गीतकार मणिराज बस्नेत विगत सोह्र बर्षदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसेर गीत लेखनमा सक्रीय रहँदै आएका छन् । अग्रज कोरियोग्राफर तथा निर्देशक याम गुरुङको निर्देशन एवं कोरियोग्राफीमा भर्खरै उनको अर्को नयाँ गीत मायाले बोलाको को भिडियो सार्वजनिक भएको छ । भिडियोमा अञ्जली अधिकारी, लोमश शर्मा र साथीहरुको नृत्य / अभिनय रहेको छ । वीरेन्द्र भाट ‘विपिन’ को सिनेम्याटोग्राफी एवं सम्पादन रहेको यो भिडियो  मणिराजले आफ्नै युट्युब च्यानल Mani Raj Basnet Official बाट सार्वजनिक गरेका छन् ।

पाँच दर्जनभन्दा बढी गीत रेकर्ड गराईसकेका गीतकार बस्नेतको शब्दमा नेपालका अधिकांश चर्चित / लोकप्रिय गायक, गायिकाहरुले स्वर भरिसकेका छन् । पहिलो एल्बम: पीडा – २०६४, दोस्रो फाटेको मन -२०६७, तेस्रो प्रवासी मन – २०७२ प्रकाशित भईसकेका छन् भने चौथो एल्वम मणि का गीतहरु क्रमैसँग रेकर्डिङ भईरहेको कुरा बस्नेतले बताए ।

जब आफ्नो जन्मभूमि छोडेर धेरै बाध्यताहरुको पहाड नाघ्दै एउटा नेपाली सात समुन्द्रपारि पुग्छ, उसले साथमा थुप्रै जिम्मेवारीहरु मात्र होईन आफ्नो परिवेश र आफूले टेकेको माटोको टिका समेत निधारमा लगाएर देश पनि साथमै बोकेर लागेको हुन्छ । सायद त्यसैले होला, गीतकार मणिराजले पनि आफू जन्मेर हुर्केको गाउँ र आफ्नो परिवेश भुल्न सकेनन् । त्यसैले त उनले नौमुले धारोको पानी पिएको, त्यही पानी कुलो काटेर खेत रोपेको अनि सुसेली हाल्दै घाँस दाउरा गरेको अमिट सम्झनाहरु यस गीतको शब्द-शब्दमा पोखेका छन् ।

गीतकार मणिराज बस्नेतको यो मीठो शब्दमा हाल अमेरिकाको कोलोराडोमा रहेका गौतम सागर राईले सङ्गीत भरेका छन् भने बबिना किराँतीले स्वर दिएकी छिन् । गीतमा राजु कार्कीको म्युजिक एरेन्ज र  गोविन्द सोनीको मिक्सिङ रहेको छ । एक्शन स्टुडियोका रेकर्डिष्ट सुवास कुथुमी राईले यो गीत रेकर्ड गरेका हुन् ।