बिचौलिया दलालहरुका कारण भेन्टिलेटरमा पुग्यो राजनीति

डा. डीआर उपाध्याय


बिपन्नदेखि सम्पन्नसम्म किशोर–किशोरीदेखि वृद्ध–वृद्धासम्म अत्यन्त चासोका साथ चर्चा हुने विषय हो राजनीति । विशेषगरी प्रजातन्त्र पुनर्स्थापनदेखि सङ्घीय लोकतान्त्रिक गर्ने उद्योग व्यवासाय बनाए, यसबारे सबै जागरुक नेपालीहरुले चासो ब्यक्त गर्ने गरेका छन् । साना पार्टीदेखि ठूला पार्टीसम्म निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनीतिक पार्टीदेखि दुईचार जनाको दस्तखतबाट एउटा माइन्युट रजिष्टरमा सञ्चालित पार्टीका नेता– कार्यकर्ताहरुको जीवनशैली तडक भडकयुक्त नै भेटिन्छ । यध्यपि ती मध्ये धेरैको देखिने आम्दानीमूलक ब्यवसाय खासै हुँदैन ।

राजनीतिमा नवप्रवेशी तथा सरकारी सुविधा पाउने कुनै पदमा नपुगेका नेताहरु समेतमा धेरैसँग महंगा गाडी छन् । उनीहरु विलासी जीवन गुजारिरहेका छन् । उनीहरुका नजिकका व्यक्ति पीठ पछाडि खुलेरै भन्छन्– नेताज्यूको ब्यवसाय हो, ठेक्का– पट्टा र  कर्मचारी सरुवा– बढुवामा दलाली । एउटा चुनावदेखि अर्को चुनावसम्म अधिवेशन, महाधिवेशन, सम्मेलन– सभा आयोजना गर्ने नाममा जबर्जस्ती गर्ने गरिएका चन्दा पनि राजनीतिक ब्यवसाय बन्दै गएका छन् । राजनीतिक विचौलियाहरुमा केहीको शक्ति एवं पहुँचबाट मन्त्री–सचिव समेत उनीहरुको ईच्छा बमोजिम ठूला–ठूला टेण्डरहरुमा निर्णय गर्न बाध्य भएको अनेक घोटाला काण्डबाट खुलासा हुने गरेको छ । राजनीतिमा हावी भएको यस्तै विचौलिया प्रवृत्तिले राजनीतिको परिभाषा नै परिवर्तित भएको छ ।

जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्था प्रणालीको निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको सन्तुलन कायम गर्ने र यस्तै अन्य कार्य गर्ने नीतिका रुपमा परिभाषित राजनीति अहिले धेरै नेताहरुको कमाउ धन्दाका रुपमा विकसित हुँदै गएको छ । कोरोना महामारीमा सर्वसाधरण जनताको जीवन निर्वाह दुष्कर हुँदा पनि उच्च पदमा पुगेका केही नेता तथा राजनीतिक वृत्तबाट भएको अनियमितता एवं लापरवाहीले त राजनीतिको गर्नुसम्म दुर्गंति गरेको छ ।

पीसीआर परीक्षण, राहत वितरण र  रोजगारीको सवालमा राजनीतिक अदूरदर्शिता, असक्षमता, अकर्मण्यता छताछुल्ल हुँदा सिंगो राजनीति मर्माहत भएको छ । राजनेताहरुले विचौलिया, दलाल, अवसरवादी र  गुण्डागर्दी प्रवृत्ति भएकाहरुको चँगुलबाट आफूलाई मुक्त गरेर सर्वसाधारण जनताका घाउमा मलम लगाउने नीति कार्यान्वयन गरेनन् भने भेन्टिलेटरमा पुगेको राजनीतिलाई सकुशल बाहिर निकाल्न अत्यन्त कठिन हुने छ ।

Top of Form