समाज बदल्नका लागि सबैभन्दा पहिले आफूलाई बदल्न जरुरी छ

-डा. डीआर उपाध्याय


नेपाली जनताले कम्युनिष्टलाई झण्डै दुईतिहाई मत दिई राज्यसत्ता सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी सुम्पिएको पनि झण्डै साँढे दुईबर्ष नाघिसक्यो । तर नेपाली जनताले कम्युनिष्ट सरकारबाट राहत होइन, आहत पाईरहेका छन् । दिनरात पसिना बगाउँने श्रमजीवी जनता गाँस–बास–कपास नपाएर अत्यन्त दुःख कष्टका साथ जीवन बाँच्न विवश छन् । जनताको पसिनामा खेलवाड गर्ने र सुखसयल जिन्दगी बिताउनेको जमात पनि समाजमा बढ्दै गएको छ । कोभिड–१९ को महामारीका कारणले सरकारको अगाडि निश्चय नै चुनौती थपिएको छ । तर पनि यसलाई जनताको सेवा गर्ने अवसरका रूपमा उपयोग गर्न सक्नु पर्दथ्यो । तर सकेन । यसबेला जनता रोग र भोकबाट पीडित छन् । तर, राज्यको उपस्थिति कतै देखिदैन । सत्तारुढ दल नेकपाभित्र यतिबेला कतिपय यस्ता चिन्तन र प्रवृत्ति देखा पर्दैछन्, जसका कारणले कम्युनिष्ट आन्दोलन कमजोर हुने खतरा देखा पर्दै छ । नेकपाका शीर्ष नेताहरु बेलैमा सचेत भएर आफूलाई सच्याउन सकेनन् भने सोभियत सङ्घ, पूर्वी यूरोप र तत्कालीन कम्बोडिया लगायत तमाम देशका कम्युनिष्टले भोगेको नियति व्यहोर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन । यो कुरा नोट गरेर राखे हुन्छ ।

यतिबेला मुलुकको अर्थतन्त्र कमजोर छ । कोभिड–१९ को महामारीका कारणले यो अवस्था सिर्जना भएको हो । मुलुकको अर्थतन्त्र दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रणमा छ । मुलुकको हरक्षेत्रमा बिचौलियाको बिगबिगी छ । आम जनता कष्टकर जीवन बिताउन बाध्य छन् । त्यस्तै तस्करी, भ्रष्टाचार र कमिसनका कारण सम्पूर्ण विकास निर्माणको काम प्रभावित छ । दलाल तथा नोकरशाही पुँजीवाद नै नेपाल र नेपाली जनताको प्रगतिको प्रमुख बाधकको रुपमा खडा भएको छ । मुलुकको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रतामा आँच पुग्ने खतरा विद्यमान छ । कम्युनिष्टभित्रकै केही भ्रष्ट व्यक्तिका कारण कम्युनिस्ट आन्दोलन ठूलो खतरामा पर्ने निश्चित छ । आफैँभित्रका तमाम गल्ती–कमजोरीका कारण सोभियत सङ्घको समाजवाद ढल्यो । कम्युनिष्टका लागि योभन्दा ठूलो शिक्षा अरू के हुन्छ ?  नेपालमा पनि त्यही स्थिति नआउला भन्न सकिदैन । नेपाली समाजमा अनेक किसिमका सामन्ती र पुँजीवादी विकृति, विसङ्गति र कुसंस्कार व्याप्त छन् । यस किसिमका सामाजिक विकृतिले पार्टीका तमाम नेता तथा कार्यकर्तालाई प्रभावित पारेको छ । समाज बदल्नका लागि सबैभन्दा पहिले पार्टीभित्रकै नेता, कार्यकर्ताले आफूलाई बदल्न जरुरी छ । कम्युनिष्ट पार्टीमा नैतिकता, न्याय र इमानदारिता सबैभन्दा महत्वपूर्ण र अनिवार्य विषय हो, तर त्यो समाप्त भएपछि जतिसुकै ठूलो शक्ति निर्माण भएपनि त्यो अस्थायी र क्षणिक मात्र हुन्छ ।

सुरूआती दिनमा नेपाली जनताले कम्युनिष्ट पार्टीको सरकारबाट ठूलो अपेक्षा गरेका थिए । अपेक्षा गर्नु पनि अत्यन्त स्वाभाविक थियो । तर अहिले त्यो छैन । अहिले पनि हाम्रो समाजमा गरिब र धनीबीचको अन्तर निरन्तर बढ्दै गएको छ । मुलुक निरन्तर परनिर्भताको दलदलमा भासिँदैछ । व्यापार घाटा, वैदेशिक ऋण, मूल्यवृद्धिको क्रम निरन्तर बढ्दै छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार, अनैतिकता, हत्या, आत्महत्या, बलात्कार, विभेद आदि बढ्दो अवस्थामा छ ।