सत्तासँग सधैं बार्गेनिङ गरेर प्रतिपक्षीको धर्म निर्वाह हुन सक्दैन

-डा. डीआर उपाध्याय


कोभिड– १९ का कारण मुलुकको परिस्थिति गम्भीर मोडमा छ । जनता रोग र भोकबाट आक्रान्त छन् । गरिब, निमुखा, वृद्धवृद्धा, असहाय, बालबालिका खान नपाएर भोकभोकै छन् । सरकार केवल आफ्नो पार्टीको आन्तरिक किचलो र सत्ता स्वार्थको राजनीतिमा मात्र केन्द्रित छ । सरकारलाई जनताको कुनै चिन्ता छैन । सरकार यतिबेला जनताप्रति संवेदनशील बन्नु पर्दथ्यो, बन्न सकेन । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क नगर्ने भनेर हात झिकेको अवस्था छ । देशमा भ्रष्टाचार मौलाएको छ । मुलुक सङ्कटग्रस्त अवस्थामा छ । सरकार आफ्ना नागरिकप्रति जिम्मेवार भएन । यस्तो बेलामा सरकारलाई सही बाटोमा ल्याउन प्रतिपक्षको महत्वपूर्ण भूमिका हुन्छ । तर प्रतिपक्षी दल नेपाली काँग्रेस पनि लाचार बनेर बसेको छ ।

सरकारले सत्ता र शक्तिको आडमा गलत कामकारबाही गर्दा खबरदारी गर्ने काम प्रतिपक्षको हो । सरकारले गरेका गलत नीति र निर्णयबारे जनतालाई अवगत गराउँने भनेकै प्रतिपक्षको धर्म हो। संसदमा प्रतिपक्षको भूमिका कमजोर भयो भने जनताको आवाज स्वतः कमजोर हुन्छ । संसदीय व्यवस्थामा प्रतिपक्षको महत्वपूर्ण भूमिका हुन्छ । संसदका बिभिन्न समितिमा रहेर सरकारको गलत कामको खबरदारी गर्नु र राम्रा कामको समर्थन गर्नु उसको कर्तव्य हो । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत छ । सरकार उसैको हुने नै भयो । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ । तर प्रतिपक्षीले निर्वाह गर्नुपर्ने कैयौं भूमिका उसले निर्वाह गरेको छैन । प्रतिपक्षी दल हुनुका नाताले राज्यबाट पाउने सेवा, सुविधा लिने र संवैधानिक समितिमा बसेर पदीय बाँडफाँटमा मात्र सीमित रहेको देखिन्छ । सत्तासँग सधैं बार्गेनिङ गरेर प्रतिपक्षीको धर्म निर्वाह हुन सक्दैन । नागरिकको स्वास्थ्य सुरक्षाका हिसाबले सरकार अधोगति उन्मुख छ र यही कारण सरकार असफल हुने खतरा बढ्दो छ ।

युरोपका विकसित मुलुक दोस्रो चरणको लकडाउनमा प्रवेश गरेका छन् । उनीहरूले जाडो यामसँगै कोरोना भाइरसको सङ्क्रमण अरू बढ्ने खतरा देखेका छन् । नेपालमा पनि जाडो बढ्दै जाँदा कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।