के नेकपा फुटको सङ्घारमा पुगेकै हो त ?

-डा. डीआर उपाध्याय


सत्तारुढ दल नेकपाभित्र फेरि विवाद सुरु भएको छ । यसले आम नेपाली जनतालाई चिन्तित बनाएको छ । यतिखेर मुलुकमा गम्भीर स्वास्थ्य सङ्कट परेको छ । आम नागरिक उपचार नपाएर छट्पटाईरहेका छन् । यतिबेला नेकपाको ध्यान यतातिर केन्द्रित हुनु पर्दथ्यो । यो विवाद गर्ने बेला होइन । सत्तारुढ दल नेकपा भावनात्मक रुपमा एक भएर अघि बढनु पर्छ । यो अहिलेको आवश्यकता हो । नेकपा बिभाजन हुने हो कि भनेर नेता, कार्यकर्ता चिन्तित छन् । त्यो अवस्था कुनै हालतमा आउन दिनु हुँदैन । यदि नेकपा बिभाजनको मुखमा पुग्यो भने देशमा गम्भीर सङ्कट आउने खतरा छ । सानातिना कुरामा अल्झिएर विवाद बढाउनु उचित छैन । नेकपा बलियो बनेर अघि बढनु पर्छ । आम नागरिकको चाहना यो हो । दुई पाटी मिलेको देखेर नै नागरिकले आम निर्वाचनमा बहुमत दिएका हुन् । जनताको यो मतलाई खेलवाड गर्न मिल्दैन । देशको बिकास, समृद्धि र सुशासन कायम गरोस् भनेर जनताले मत दिएका हुन् । यो बिषयमा नेकपा गम्भीर हुनु पर्छ ।

यसअघि पनि पार्टी विवादले नेकपा झण्डै फुटको सङ्घारमा पुगेको थियो । त्यसबेला नेता, कार्यकर्ताको खवरदारीले पाटी फुट्नबाट जोगिएको हो । अहिले पनि नेता, कार्यकर्ताबाट खवरदारी हुन जरुरी छ । वैशाख यता नेकपाभित्रको विवाद चरम सीमामा पुगेको यो तेस्रो पटक हो । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर नेकपामा विवाद भएको बुझन सकिन्छ । अहंकार, आवेग र आक्रोशले कसैको पनि हित गदैन । यो कुरा नेकपाका शीर्ष नेताले बुझनु पर्छ । फुटले कसैलाई फाइदा गदैन । पार्टी बिभाजनको पीडा कस्तो हुन्छ ? विगतलाई फर्किएर हेर्न जरुरी छ । दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको सङ्घारमा पुगेकै हो त ? यो गम्भीर प्रश्न हो । त्यो परिस्थिति आउन नदिन नेता, कार्यकर्ताहरुले देशभरिबाट आवाज उठाउनु पर्छ । पार्टी एकतालाई तोड्नु हुँदैन । यो कुनै कोणबाट सही कदम हुन सक्दैन । अब नेकपाका नेता कार्यकर्ताहरुले एकताको रक्षा गर्न‘ आवश्यक छ । पार्टी र सरकारलाई विचार, नीति, विधि र पद्धतिमा चलाउनुका साथै महाधिवेशनको तयारीमा जानुपर्छ । अरू विकल्प छैन ।