भ्रष्टाचारलाई जरैदेखि नउखेलेसम्म विकास र समृद्धि सम्भव छैन

डा. डीआर उपाध्याय


मुलुकको भाग्य र भविष्य निर्माण गर्ने कुरामा सत्तारुढ दल नेकपा गम्भीर हुन जरुरी देखिएको छ । सरकार गठन भएको पनि साँढे दुईबर्ष नेटो काटिसक्यो । यो अवधिमा जनताको मन छुनेगरी काम हुनु पर्दथ्यो, तर हुन सकेन । जनताले सरकारबाट परिणाम खोजेका छन् । मुलुक कायापलट गर्ने हैसियतको सरकार हो यो । देशमा गरिबी बढेर गएको छ । सरकार समय अनुकूल अघि बढ्नु पर्दथ्यो, तर बढ्न सकेन । हाम्रो कर्मचारीतन्त्रले पनि सरकारलाई असहयोग गरिरहेको छ । देशको बिकास र समृद्धि गर्ने लक्ष्य यो सरकारले नलिएको होइन, तर कर्मचारीतन्त्र इमान्दार भएन । परम्परागत पाराले कर्मचारीतन्त्र चलेको छ । हाम्रो कर्मचारीतन्त्र राज्यको सेतो हात्तीमा परिणत बनिरहेछ ।

मुलुकको विकास र समृद्धि सबैको लक्ष्य र चाहना हो । भ्रष्टाचार संस्थागत बन्दै गएको छ । जनताका प्रतिनिधि नयाँ मालिकका रूपमा उदय भएका छन् । लामो समयदेखि मुलुक कोरोना महामारीको विपत्तिमा छ। यसको सामना कसरी गर्ने भन्ने बिषयमा सबै चिन्तित बन्ने बेला आएको छ । बिपतलाई सबै मिलेर सामना गर्नुपर्छ । सरकार मितव्ययी भएर सर्वसाधारण नागरिकलाई बढी सेवा-सुविधा दिने कुरामा सजग हुनुपर्ने देखिएको छ । तर यहाँ अनियमित तरिकाले व्यक्तिगत धनदौलत जोड्ने प्रतिस्पर्धा छ ।

मिडियामा भ्रष्टाचार र अनियमितताका समाचार हरेक दिन आईरहेका छन्  । कहिले सेवाग्राहीसँग काम गरिदिएवापत पैसा लिइरहेका बिचौलिया पक्राउ परेका समाचार आउँछन् । कहिले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएका समाचार आउँछन् । सरकारी अड्डामा सानातिना काममा पनि दलाललाई पैसा नखुवाई काम बन्ने अवस्था छैन । यातायात कार्यालयमा होस् वा मालपोत, नापी विभाग होस् वा सरकारी अड्डा-अदालत जहाँतहीं भ्रष्टाचार छ । यस्ता क्रियाकलापले गर्दा मुलुकको भाग्य र भविष्य अन्धकार भएको छ । भ्रष्टाचारलाई जरोदेखि नै नउखेलेसम्म मुलुकमा विकास र समृद्धि आउँदैन ।

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकाय र थुप्रै गैरसरकारी संस्थाले चेतनामूलक अभियान सञ्चालन नगरेका होइनन्, गरिरहेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि थुप्रै अभियान सञ्चालन भएकै छन् । तैपनि अनियमितताका घटना बढिरहेका छन् । भ्रष्टाचार जरोदेखि नै उखेलेर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ ।