कसैले जनमतलाई खेलवाड नगरौं

-डा. डीआर उपाध्याय


अहिले मुलुकमा साँढे दुई वर्षभन्दा लामो समयदेखि कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको जननिर्वाचित सरकार छ । यो सरकारलाई जनहितको पक्षमा काम गर्न केले छेक्यो ? बहानाबाजी मात्र गरेर पाँच बर्षको समय बिताउने कि काम गरेर देखाउने ?  नेकपाका लागि यो काम गर्ने ठूलो अवसर हो, सधैभरि अवसर नआउन पनि सक्छ । जोश, जाँगर र उत्साहका साथ काम हुनु पर्दथ्यो, मेसो केही छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको पनि साँढे दुई वर्षभन्दा बढी भैईसक्यो । एक्लै दुई तिहाई बहुमत नजिकको सङ्घीय सरकार छ । सातवटा प्रदेशमध्ये ६ वटामा नेकपाकै दुई तिहाई बहुमतका सरकार छन् । यो सरकारलाई काम गर्न केले बाधा पुयाएको छ ? अचम्म लाग्दो कुरा यो छ ।

कम्युनिष्ट पार्टीको यो सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा अघि सारेको पनि साँढे दुई वर्षभन्दा बढी भैईसक्यो । नारा अति सुन्दर छ । यही नाराले कम्युनिष्ट पार्टीको बहुमत आएको हो । जनताको मतलाई खेलवाड गर्न मिल्दैन । अहिले सरकारले जनमतलाई खेलवाड गरिरहेको छ । कोराना भाईरससँग जुध्न नसकेर सरकार पिठ्युँ फर्काएर भागेको छ । महामारीसित जुध्न नसक्ने सरकारसँग अरु के धेरै आश गर्नु ? सरकारले कोरोना भइसर सङ्क्रमितको उपचार निःशुल्क गर्न नसक्ने बताएको छ । यस्तो सरकारले जनताको भाग्य र भविष्य कसरी निर्माण गर्छ ? विश्वका प्रायः सबैजसो देशहरूले आ-आफ्ना नागरिकको स्वास्थ्य रक्षा गर्नमा सम्पूर्ण प्रयास र ऊर्जा केन्द्रित गरेका छन् । तर नेपाल सरकार यी सबै कुराबाट पछाडि हटेको अवस्था छ । सरकारले जनताको टाउकोमा उपचार खर्चको भारी बोकाइदिएको छ । सरकार आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारीबाट पन्छिएको छ । यो कुरा जनताले मनमा राखेर बसेका छन् । आगामी निर्वाचनबाट फैसला गर्नेवाला छन् । दुई वर्षअघि आफैँले बनाएको आधारभूत स्वास्थ्य ऐन विपरीत सरकार गएको छ ।

सरकार नेपाली जनतालाई कोरोना सङ्क्रमणको चेकजाँच, उपचार र मृतकको शव व्यवस्थापन गर्नबाट पन्छिएको छ । यसको अर्थ हो, सरकार हात उठाएर भागेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीसमक्ष सरकारको यस्तो आत्मसमर्पणले जनता निराश छन् । सरकार कोरोनासामु पूर्णरूपले असफल र पराजित भएको छ । यदि जनता निराश भए भने आगामी निर्वाचनमा अहिलेको सत्तारुढ नेकपाले अकल्पनीय पराजय भोग्नु पर्ने खतरा आउन सक्छ ।

लोकतन्त्रमा जनताको भावनाअनुसार हिँड्न नसक्ने दल असफल हुने छन् । यिनीहरुलाई जनताले सधैंभरि काँध थापिरहनु पर्ने जरुरी छैन । ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो अस्तित्वको औचित्य गुमाइसकेको छ । अहिले सङ्क्रमण दर बढ्दै जाँदा सरकार अताल्लिएको छ । धरौटी रकम जम्मा नगरी सरकारी अस्पतालमा समेत सङ्क्रमितको उपचार हुँदैन । अवस्था यस्तो छ । सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेर भाग्नु भनेको लज्जाको बिषय हो । नागरिकहरूले राज्यलाई कर तिरेका छन् । कानुन पालना गरेका छन् । सरकारको आदेश पालन गरेका छन् । तर सरकारले नागरिकको आधारभूत स्वास्थ्य रक्षाको काम गर्न सकेको छैन । यो बिडम्वना हो ।