आज दशैंको टिकाको दिन । सचेत रहौं, अनावश्यक हिँडडुल नगरौं ।

डा. डीआर उपाध्याय


नेपालीको प्रमुख चाड दशैंको टिकाको दिन हो आज । आज आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने दिन हो । आज इष्टमित्र भेटघाट गर्ने दिन पनि हो । यो दशैंको विशेषता नै हो । कोरोना भाइरस सङ्क्रमणको दर बढ्न थालेकाले अघिल्लो बर्ष जस्तो भेटघाट नगरौं । यतिबेला कोरोना भाइरसले सबैतिर चिन्ता बढाएको छ । भेटघाट र भीडभाडले कोरोना सङ्क्रमणको दर अझै बढने खतरा छ ।  दशैंमा मान्यजनहरूबाट टीका थाप्नका लागि बूढापाका-ज्येष्ठ नागरिकहरू समक्ष जानुपर्ने हुन्छ । यसले झन जोखिम बढने खतरा छ । त्यसैले आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं । तपाई हामी सबै आ-आफ्नै घरभित्र बसेर दशैं मनाऔं । यो महामारीबाट सुरक्षित हुन सकिए दशैं त अर्कोवर्ष पनि मनाउन सकिन्छ। हामीले अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छौं, त्यहीँ बसेर हाँसी, खुशी दशैं मनाऔं ।

हरेक नागरिक सचेत हुनुपर्ने बेला आएको छ । अहिले हेलचेक्र्याइँ गर्दा सङ्क्रमणको जोखिम बढ्ने मात्रै होइन, ज्यानै जान पनि सक्छ । त्यसैले आज घरमै बसौँ, आफू र समाज सबैलाई सुरक्षित राखौँ । दशैंमा टीका थाप्न आउने, जाने आफन्त तथा नाता कुटुम्बबाटै सङ्क्रमण फैलने सम्भावना छ । यसरी आफन्तलाई टीका थाप्न नआउनू भन्दा पनि नमज्जा लाग्ने । यो आफैंले बुझने कुरा हो । आफू, घर, परिवार, समाज र मुलुकलाई सङ्क्रमणबाट सुरक्षित बनाउने कार्यमा जुटौं । दशैंको यही मङ्गलमय शुभकामना !