बडादशैंको पावन अवसरमा सबैलाई मेरो हार्दिक शुभकामना

-डा. डीआर उपाध्याय


अघिल्लो बर्ष जस्तो यस बर्षको दशैको रौनक त्यति छैन । दसैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण यस बर्षको दशै खल्लो बनेको छ । कोरोना भाइरसको कारण यति बेला मुलुकको सम्पूर्ण माहोल दशैमय छैन । विश्वव्यापी संकटका रूपमा रहेको कोभिड–१९ को जोखिम बढिरहेको छ । बजारमा त्यति चहलपहल छैन । यो वर्षको दसैं हर्सोल्लासमय छैन । अहिलेको मुख्य बिषय भनेको स्वास्थ्य सावधानी अपनाउने र संक्रमणबाट जोगिने नै हो । बाँचे अर्को बर्ष उत्सवमय दशै मनाउँला । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ । आज सातौं दिन अर्थात् फूलपातीको दिन हो । दशै १५ दिनसम्म मनाइने चलन छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका–जमरासहित आशीर्वाद लिने परम्परा छ, जुन नेपालीहरूको मौलिक प्रचलन हो । मुलुकका केही भागमा दसैंको पन्ध्रौं दिन अर्थात् पूर्णिमासम्म टिका लगाउने चलन र परम्परा छ । हामी यस बर्ष त्यति धेरै भेटघाट, जमघट नगरौ । यसले जोखिम निम्तिन सक्छ । । त्यसैले, यस वर्ष हामीले प्रत्यक्ष भेटघाट र टीकाभन्दा पनि सुस्वास्थ्यको आशीर्वाद र आशिषलाई बढी जोड दिनुपर्ने अवस्था छ, जुन फोनबाट , मोवाईलबाट , फेसबुकबाट , म्यासेन्जरवाट टाढै भए पनि यी प्रविधिको माध्यमबाट शुभकामना आदानप्रदान गर्न सकिन्छ । कति सर्वसाधारण स्वास्थ्य सावधानी अपनाउँदै दसैं मनाउन आफनो जन्म घर फर्किएका छन्, कति फर्किंदै छन् । कति भने आफ्नो गाउँ–ठाउँ गएका छैनन् । जो जहाँ बसेका छन्, त्यहीँ दशै पर्व मनाउने धूनमा छन् । यो बेला नागरिकहरू स्वयं बढी सावधान रहनुपर्ने अवस्था छ । सरकारले महामारी रोकथाम र नियन्त्रण गर्न सकेन । सरकारले उपचारबाट पनि हात झिकिसकेको अवस्था छ । त्यही भएर, सर्वसाधारणले आफू कसरी संक्रमणबाट जोगिने भन्ने बिषयमा केन्द्रित हुनु पर्छ । सरकारले नागरिकहरूलाई भार पर्ने गरी बढेको बजार भाउ पनि नियन्त्रण गर्न सकेको छैन । यस पालिको दशै नागरिकहरूले दुःख–सुःख साथ मनाउनुपर्ने अवस्था छ । विगतमा झैं भव्य ढंगले यसपालि कुनै पनि पर्व मनाउन सकिने स्थिति छैन । आफन्तबीचकै जमघटमा पनि मास्क लगाउन र व्यक्तिगत दूरी कायम राख्न कसैले भुल्नु हुँदैन । घरपरिवारमै पनि धेरै ख्याल गर्नुपर्छ, सानो हेलचेक्र्याइँले ठूलो जोखिम निम्त्याउन सक्छ, त्यसप्रति हामी सवै सचेत बनौं । यति भन्दै बडादसैंको पावन अवसरमा सबैलाई मेरो हार्दिक शुभकामना ।