चाडबाड नजिकिंदै गर्दा बजार मूल्य आकाशियो

डा. डीआर उपाध्याय


दशैंका बेला खाद्यान्न लगायतका अत्यावश्यकीय वस्तुको अचाक्ली मूल्य बढेको छ । कालोबजारीको बिगबिगीले उपभोक्ता मारमा परेका छन् । सरोकारवाला निकायहरुले झारा टार्नै बाहेक अरु केही काम गर्न सकेका छैनन् । नियमित बजार अनुगमन हुनु पर्दथ्यो, अहिले छैन । सुरु सुरुमा अनुगमन गरे जस्तो गर्ने अनि बीचमै त्यसलाई निरन्तरता नदिएर छोडने परम्पराले नेपाली उपभोक्ताहरु धेरै मारमा परेका छन् । सरकारले पर्वलक्षित अनुगमन गरेर मात्र हुँदैन । बजार अनुगमन निरन्तर हुनु पर्छ । सरकारी टोलीहरू बजार अनुगमनमा ननिस्केका होइनन् । तैपनि महँगी आकाशिन रोकिएन । अनियन्त्रित मूल्य वृद्धिले सर्वसाधरणको ढाड सेकिएको छ । सरकारी निकायहरूले अनुगमन देखावटी मात्रै गरेका छन् । जसले गर्दा प्रभावकारी नतिजा आउन सकेको छैन । बजार मूल्य बढ्नुको कारण के हो यसको खोजी हुनुपर्छ । स्वाभाविक मूल्य प्रणालीभन्दा बाहिर गएर बजार मूल्य बढाउने तत्वहरु बजारमा सक्रीय छन् । तिनीहरुको खोजी गर्नु पर्छ र दोषी ठहर भए कडा कारवाही हुनु पर्छ । उपभोक्ता ठगिने क्रम रोकीएको छैन ।

कोभिड–१९ को कारण उत्पन्न परिस्थितिका कारण आम उपभोक्ताको बैंकमा पैसा छैन । लामो लकडाउनका कारण धेरै मानिस कामबिहीन हुन पुगेका छन् । बजार भाउ छोइसक्नु छैन । गत वर्षको दशैंको तुलनामा अधिकांश खाद्यान्न तथा गेडागुडीको मूल्य किलोकै दस रुपैयाभन्दा बढी बढेको छ । हरियो केराउको किलोमै ४० रुपैया र खानेतेल तथा घिउको भाउ किलोमै ५० रुपैयासम्म बढेको छ । सबै क्षेत्र महामारीको मारमा परेको बेला हो यो । यसको नियन्त्रण गर्न सरकार लगायतका सरोकारवाला गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ । मिलेमतोमा उपभोक्तामाथि ठगी गर्ने काम बन्द हुनु पर्छ । यस्तो संकटको घडीमा बजारको मूल्य मनपरी ढंगले तल–माथि हुन दिनु हुदैन । व्यापारीहरूले जायज मुनाफासहित लाग्दो मूल्य लिन पाउनुपर्छ, सामग्रीमा मनपरी मूल्य बढाउन पाईदैन ।

बजारमा आफूखुसी मूल्य बढ्न नदिन उपभोक्ता आफैं पनि जागरुक हुनुपर्छ । सरकारले पनि बजार अनुगमन प्रणालीलाई चाडबाडकेन्द्रित मात्र बनाएर हुदैन, बाह्रै मास बजार अनुगमन गर्नुपर्छ । र, यस्तो अनुगमन सबै तहमा समान ढंगले गर्नुपर्छ, उद्योगी र ठूला व्यापारीलाई छुट र सानालाई मात्रै कानुन लगाउनु हुँदैन । साना पसलहरूमा मात्र अनुगमन गरेर मूल्य नियन्त्रणमा आउन सक्दैन । स्थानीय सरकारहरू यसमा अलि बढि सचेत रहनुपर्छ ।