यसपालिको दशैं, उत्साह र उमङ्ग छैन

-डा. डीआर. उपाध्याय


नेपालीहरूको महान पर्व विजयादशमी सुरु भएको छ । अघिल्लो बर्ष जस्तो उत्साह र उमङ्ग यसबर्ष छैन । अधिकांश विपन्न नेपालीका लागि यो बर्षको विजयादशमी त्यति उत्साहजनक छैन । विगत ७ महिनादेखि कोरोना सङ्क्रमणले थलिएका विपन्न वर्गको निम्ति दशैं  दशा बनेर खडा भएको छ । विपन्न नागरिक साँझ–बिहानको छाक टार्ने समस्यामा छन् । अहिलेको दशैं विशेष तामझामको साथ मनाउने अवस्था छैन । देश सङ्कटमा परेको बेला फजुल खर्च गरेर मात्र हुँदैन । अघिल्लो बर्ष जस्तो बजारमा दशैंको चहलपहल छैन ।

उपत्यकाबाट बाहिर जाने र बाहिरबाट उपत्यकामा भित्रनेको संख्या गत बर्षको तुलनामा कम छ । तरपनि कोरोना सङ्क्रमणको बढ्दो वृद्धिदरलाई ख्याल गरी सुरक्षा सावधानी अपनाउनु पर्ने आवश्यकता देखिएको छ । यदि हामीले सुरक्षा सावधानी अपनाउन सकेनौ भने समस्या उत्पन्न हुने निश्चित छ । यसको निम्ति हामीले बेलैमा सचेत बन्नु आवश्यक छ । सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरुरी छ । सङ्क्रमण भइहाल्यो भने समस्या हुन्छ । विश्वले नै यो कोरोना भाईरस सामना गरिरहेको छ ।

सङ्क्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा बेडको अभाव भएको छ। सङ्क्रमितको चाप बढ्दै गर्दा स्वास्थ्यकर्मीले भरपुर सेवा दिन सकेका छैनन् । सरकारले समेत सङ्क्रमितलाई स्वास्थ्य समस्या जटिल नबनेसम्म घरमै आइसोलेसनमा बस्न अनुरोध गरिरहेको छ । जनताको नजिकको सरकार भनेको स्थानीय तहको सरकार हो । उसले आफू मातहतका क्षेत्रमा देखिएकाहरुको साह्रो–गाह्रोमा सहजीकरण गरिदिनुपर्छ ।

कोरोनाले धनी गरिब भन्दैन । यसले विश्वमा दश लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । तसर्थ प्रकृतिकै साझा दुश्मनको रूपमा आएको हुनाले यसलाई परास्त गर्न सामूहिक चेतनाको खाँचो छ। हरेक व्यक्तिले होसियारी अपनाएर पनि सङ्क्रमण भइहाल्यो भने कसरी जोगिने भन्नेतर्फ सोंच्नुपर्ने बेला भएको छ । पूर्वतयारी अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो । सुरक्षा सावधानी अपनाउनु अहिलेको आवश्यकता हो ।