सङ्क्रमण महामारीतिर उन्मुख ।सरकारले घुँडा टेक्यो, आफैं सचेत बनौं

डा. डीआर उपाध्याय


कोरोना सङ्क्रमणको दर ह्वात्तै बढिरहेको छ । काठमाडौं उपत्यका लगायत मुलुकका अन्य धेरै ठाउँमा कोरोना महामारीको सङ्क्रमण बढेको छ । पछिल्लो समयमा आएर कोरोना सङ्क्रमणले धेरैलाई त्रसित बनाएको छ । महामारीको सङ्क्रमण रोक्न र यसवाट बच्ने उपाय खोज्ने बेला आएको छ । अब महामारीको सामना गदै अघि बढनुपर्ने भएको छ ।

अस्पतालमा भेन्टिलेटर र कोठाको अभाव छ । बिरामीहरुले समयमा उपचार नपाएर ज्यान गुमाईरहेका छन् । परिस्थिती जटिल बन्दै गइरहेको छ । अब महामारीसँग जुध्न सक्ने मनोबल उचो बनाउनुपर्ने जरुरी देखिएको छ । सबै सरकारी तथा निजी अस्पतालमा सेवा सुविधाको अभाव छ । सरकारले सेवा सुविधा उपलब्ध गराउने कार्यमा त्यति ध्यान दिन सकेको छैन । अस्पतालले बिरामीहरुलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउन नसकेको स्वीकारीसकेको छ । अब सरकारले प्याकेजका कार्यक्रम अघि सार्नुपर्छ । उपचारका लागि सम्भाव्य स्थान तथा औषधिको छनोट गर्नुपर्छ । सङ्क्रमणले महामारीको रुप लिँदै गएको छ । यस अवस्थामा उपचारको तयारीलाई तीव्रता दिनु पर्छ । भेन्टिलेटरको संख्यामा वृद्धि, आइसोलेसन वार्डहरूको निर्माण, सम्भाव्य औषधिको खोजी गर्नुपर्ने यो तत्कालको आवश्यकता हो ।

अग्र पङ्क्तिमा रहेका डाक्टर तथा नर्सहरूको स्वास्थ्य सुरक्षा र सेवा सुविधाको निकै ख्याल गरिनु जरुरी छ । सङ्क्रमणको अग्र पङ्क्तिमा लड्नेका लागि सुरक्षाका हिसाबले बलियो र ढुक्क बनाइनु जरुरी छ । कोरोना सङ्क्रमणलाई आम मानिसले सामान्य रूपमा बुझ्न थालेपछि जोखिम बढ्दै गएको हो । व्यक्तिगत होसियारी अपनाउनु पर्ने जरुरी देखिएको छ । कोरोना सङ्क्रमणले धेरैलाई डस्न सक्ने पछिल्ला घटनाले पुष्टि गरेका छन् । सङ्क्रमणको जोखिम कम गर्न अब सबै प्रकारका होशियारी हुन जरुरी छ । अब सङ्क्रमण रोक्न जनता नै जागौँ भन्ने यो पङ्क्तिकारको भनाई हो । महामारीमा समेत नागरिकको उपचार गर्न सक्तैनौ भन्न लाज नमान्ने शासकहरूबाट जनताले के अपेक्षा गर्ने ?

नेपालमा कोभिड—१९ को सङ्क्रमण रोकिने लक्षण देखिएको छैन । सरकारले भने महामारीका अगाडि घुँडा टेकेको देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘बेहोस भएमा वा हुन लागेमात्र अस्पताल आउनु’ भन्ने अभिव्यक्ति दिन्छन् । यस्तो पनि सरकार हुन्छ ? काठमाडौंका अस्पतालहरूमा कोभिड—१९ का बिरामीको उपचार गर्ने क्षमता नभएकै हो त ?

सरकार जिम्मेवार भएको भए आजको अवस्था आउने नै थिएन । नेपालसँग तयारीका लागि पर्याप्त समय थियो । मन्त्री र सरकारी अधिकारीहरूको ध्यान सङ्क्रमण नियन्त्रणमा नगएर महामारीको निहुँमा राज्यको ढुकुटीबाट कसरी धेरै दोहन गर्न सकिन्छ भन्नेमा गयो ।

नेपाली जनता पनि कोभिड—१९ को सङ्क्रमण र यसबाट हुनसक्ने क्षतिका सम्बन्धमा अपेक्षित जिम्मेवार देखिएनन् । सरकारले आफूले बनाएको सुरक्षाका उपाय आफैँले कार्यान्वयन गरेन । उपयुक्त सावधानी अपनाउन जोड दिएको भए कम्तीमा सुरक्षाकर्मीहरू नै यति धेरै सङ्क्रमित पक्कै हुने थिएनन् । यसैले अब सङ्क्रमण गाउँ गाउँमा फैलन नदिन जनता स्वयं सावधान हुनुपर्ने देखिन्छ ।