रोकिएन पाशविक बलात्कार : मानवीयतामाथि नै प्रश्न

-डा. डीआर उपाध्याय


हामी अनेक धार्मिक चलचित्र र टेलि शृङ्खलामा हेर्छौ राक्षसहरुले पृथ्वीबासीमाथि चरम अत्याचार गर्ने थालेपछि र देउताहरु समेतले उनीहरुलाई पराजित गर्न नसकेपछि सबै त्राहिमाम–त्राहिमाम गर्दै महादेव वा भगवान विष्णु समक्ष पुगेर राक्षसहरुको अत्याचार अन्त्य गर्न आग्रह गर्छन् । बलात्कारीहरुले आज सिंगो मानवीयतालाई त्यसैगरी दिनहुँ क्षत–बिक्षत पारिरहेका छन् । हाम्रो देशमै सुन्दै, पढ्दै मुटु थरर कपाउने बलात्कारका घटना एकमाथि अर्को भईरहेका छन् ।

धनुषामा ५ वर्षे बालकको मलद्वार च्यातिने गरी भिनाजुबाट यही असोजमा भएको बलात्कारले अमानवीयताको पराकाष्टा नै नाघिदियो । यही असोज १५ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका –३ तेम्बाथानकी ३२ वर्षिय एक छोरा र एक छोराकी आमालाई बाटोमा हिँडदै गर्दा मोटरसाइकलमा अपहरण गरेर लगी बोलेरो जिपमा चारजनाले बलत्कार गरे । यही महिना १६ तथा १७ गते राजधानी उपत्यकाकै भक्तपुरमा एक किशोरी बन्धक बनाएर बलत्कारीहरुबाट २४ घण्टा बलात्कृत भईन् । भक्तपुरको चाँगुनारायण–८ लिवालीमा बसका चालक र सहचालकले बसभित्रै विहान ११–१२ बजेदेखि साँझ ७–८ बजेसम्म बलत्कार गरे । त्यसको एकदिन अघि उनी अर्कै युवकबाट बलात्कृत भई चालक र सहचालकलाई जिम्मा लगाइएकी थिईन् । यस्तै बझाङको बुंगल नगरपलिकाकी एक युवती पति र ससुराबाट बलात्कृत भई वेश्यावृत्तिमा लगाईएको खुलासा भएको छ । पति र ससुराले उनीमाथि लगातार बर्बर यौन हिंसा गर्दै  यातना दिने गरेका थिए ।

बलात्कारको ग्राफ दिनहुँ माथि चढ्दै छ । अहिले दिनहुँ ७ जनाको बलात्कार भईरहेको छ । यस्तो भयावह अवस्थामा पुगिसकेको समाजिक कलंकबारे जिम्मेवार तहबाट अन्य मुलुकसँग तुलना गरेर हलुका किसिमको प्रतिकृया आउनु देशकै लागि दुर्भाग्यपूर्ण कुरा हो । राज्यले यसलाई अत्यन्त गम्भीर रुपमा लिएर बलात्कारी मानसिकता राखेका जो कोहीलाई सबै उपाय अवलम्बन गरी अंकुस लगाउनु आवश्यक छ । गाउँ गाउँसम्म पहुँच बनाएका गैर सरकारी सामाजिक संस्थाहरुले बलात्कार नियन्त्रण कार्यलाई आफ्नो प्रमुख लक्ष्य बनाएर बिभिन्न किसिमिका कार्यक्रमहरु संचालन गरेमा अवश्य नै सकारात्मक परिणाम आउँछ । संसदीय महिला तथा सामाजिक समितिद्वारा सरकारलाई जघन्य अपराध तथा हिंसाका घटनामा मेलमिलाप गर्नेलाई हदै सम्मको सजाय गर्नु भन्ने निर्देशन हुनु सकारात्मक कुरा हो । बझाङमा बलत्कारको घटना गाउँमै मिलाउने ६ जना पक्राउ समेत परेका छन् । यसरी मिलेमतो गराउनेलाई बलात्कारी सरहकै सजाय दिनु आवश्यक छ । पङ्क्तिकारले अनेक सन्दर्भमा जोड दिने गरेको छ । बलात्कारीलाई फाँसी दिने वा आजीवन नपुंसक बनाउने सजायको व्यवस्था कानुनले गर्नुपर्ने आवश्यकता दिनहुँ बढ्दै गएका निर्मम बलात्कारका घटनाले नै औंल्याईरहेका छन् ।