बढ्दो कोरोना भाइरस सङ्क्रमणप्रति सचेत बनौं

-डा. डीआर उपाध्याय


कोरोना भाइरस सङ्क्रमणको दरले सीमा नाघ्दै छ । यसको रोकथाम र नियन्त्रणमा आफैं लाग्नुपर्ने आवश्यकता देखियो । महिनौंको ‘लकडाउन’ र निषेधाज्ञाले पनि कोरोना भाईरस नियन्त्रणमा आउन सकेन । मुलुकको अवस्था झन्–झन् डरलाग्दो बन्दै छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गइरहेको छ । सङ्क्रमणको गति यसरी बढनु भनेको डर लाग्दो सङ्केत हो । सरकारले प्रभावकारी कदम चाल्नु पर्ने आवश्यकता देखियो । यदि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने परिस्थिति भयावह हुने सङ्केत स्पस्ट देखिएको छ । त्यसैले, सरकारले रोकथाम र नियन्त्रणका लागि उपाय अपनाउनु पर्छ । नागरिकले पनि पर्याप्त सतर्कता अपनाउनु पर्ने जरुरी छ । सक्रीय सङ्क्रमित संख्या २५ हजार नाघिसक्यो । लामो समयसम्म काठमाडौं उपत्यका सुरक्षित जस्तै थियो । अहिले सङ्क्रमणको दर बढेको देखदा स्थिति डरलाग्दो छ । सङ्क्रमितको संख्या वृद्धि भएसँगै जटिल बिरामी पनि उत्तिकै बढिरहेका छन् । यही कारण उपत्यकामा कोरोना भाइरस सङ्क्रमित बिरामीहरूका लागि सघन उपचार बेड भरिभराउ भइसकेका छन्, भेन्टिलेटर खाली छैनन् । जटिल बिरामीलाई पनि सामान्य बेडमै उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भइसकेको छ ।

यहीबेला हाम्रा ठूला चाडबाडहरू – दशैं, तिहार, नेपाल संवत्, छठ आदि नजिकै आउँदै छन् । विगत बर्षजस्तै भीडभाडपूर्ण ढङ्गले चाडबाडहरू मनाउने सोचाई कसैले नगरौं । त्यसो गरियो भने सरासर जोखिम निम्तिने छ । सबैले होस् गरौं । सङ्क्रमितको संख्या अनियन्त्रित ढङ्गले बढ्न नदिन सबैको पहल हुनु जरुरी छ । त्यसका लागि सरकारले परीक्षणको मात्रा व्यापक बढाउनुपर्छ । हरेक नागरिकहरूले व्यक्तिगत दूरी कायम राख्नु पर्छ । सावर्जनिक सवारी ,स्थल, सडक पसलहरूमा व्यक्ति–व्यक्तिले आवश्यक दूरी कायम गर्नु पर्छ । सबैले मास्क अनिवार्य लगाउनु पर्छ । स्वास्थ्य सावधानीका यी उपायहरूलाई नागरिकले आफ्नै जिम्मेवारी सम्झेर पालना गर्नुपर्छ । यी नियम पालना गरियो भने सङ्क्रमणबाट बच्न सकिने छ ।