जन स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा कारबाही हुनु पर्दछ

डा. डीआर उपाध्याय


काठमाडौंमा केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै म्याद सकिएका अखाद्य वस्तुहरूमा नयाँ म्याद राख्दै बिक्री वितरण गरेको समाचार बाहिर आएको छ । काठमाडौंका बिभिन्न स्थानबाट प्रहरी प्रशासनले त्यसरी म्याद गुज्रिएका बिस्कुट, हर्लिस, चकलेट, जुस लगायतका वस्तु बरामद गरेको छ । उनीहरुले कोरोना भाइरस सङ्क्रमणको मौका छोपेर मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेका छन् । यो ठूलो अपराध हो । त्यस्ता व्यापारीहरूलाई कडा भन्दा कडा कारवाही हुनु पर्छ । आम उपभोक्तामाथि यसरी खेलवाड गर्न मिल्दैन । यस बिषयमा सरकारले कडा कदम चाल्नु पर्ने आवश्यकता देखिएको छ । त्यस्ता केही व्यापारीहरू पक्राउ परेको हल्ला पनि सुनिन्छ । तर त्यस्ता व्यापारीहरू अझै लुकीछिपी यो धन्दामा लागेको हुनु पर्छ । अब सरकारले त्यस्ता व्यापारीहरूको खोजी गर्नु पर्छ ।

नेपालको संविधानमा हरेक नागरिक स्वस्थ भएर बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चित गरिएको छ । तर, बजारमा म्याद नाघेका अखाद्य वस्तुहरूको बिक्री वितरणले नागरिकको स्वस्थ भएर बाँच्न पाउने संवैधानिक हकमाथि नै प्रश्न चिन्ह खडा भएको छ । यो गम्भीर कुरा हो । अब खोजी खोजी सरकारले अखाद्य वस्तु नष्ट गर्नु पर्छ । यदि सरकारले अखाद्य वस्तु नष्ट गर्न सकेन भने धेरै उपभोक्ताको ज्यान अकालमा जान सक्ने खतरा उत्पन्न हुन सक्छ । त्यसैले, त्यस्तो अवस्था आउन नदिन अखाद्य वस्तुलाई नष्ट गर्नु पर्छ । यो सरकारको कर्तव्य हो ।

आम उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने अपराधीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन । यतिबेला कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्था छ । हरेक व्यक्ति कोरोनासँग लडिरहेका छन् । सडेगलेका अखाद्य वस्तुको सेवनले क्यान्सर, मुटुरोग जस्ता घातक रोग समेत लाग्न सक्ने त्रास आम उपभोक्तामा बढेर गएको छ । सरकारी निकायले अखाद्य वस्तु बिक्रीवितरण गर्दै हिँड्ने कालो बजारीलाई अब कडा कारबाही गर्नु पर्छ । दशैंतिहार नजिकिंदै गर्दा कालो बजारीको बिगबिगी पनि बढदै गएको छ । बजार अनुगमनलाई सरकारले तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ । बजार अनुगमन मेला पर्वमा मात्र होईन , बारम्बार जारी राख्नु पर्छ । त्यसो भयो भने मात्र आम उपभोक्ता सुरक्षित हुन सक्छन् ।