‘काली वनमा’ रोमान्स गर्दै नग्मा र निनाम

काली वनमा कोयली चरी बोलको गीतको भिडियो भरखरै एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भएको छ । कवि तथा गीतकार भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेष अतिथिका रुपमा साहित्यकार बम बानियाँको उपस्थिति रहेको थियो । समारोह चाबहिल स्थित फलैंचा होटल तथा रेष्टुरेन्टमा आयोजना भएको थियो ।

गीतकार उमेश राईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले गीत तथा भिडियो संयुक्त रुपमा सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गरे पश्चात अतिथिहरुले रिलिज गरिएको भिडियोको बारेमा चर्चा गर्दै नेपाली गीत-सङ्गीत क्षेत्रको विगत, वर्तमान र भविष्यका बारेमा समेत विचार राखेका थिए ।

विमोचित गीतका सङ्गीतकार सन्तोष दुमीले ठट्यौली शैलीमा सञ्चालन गरेको सो कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको पनि उपस्थिति रहेको थियो । हास्य कलाकार उमेश राई ( फुलन्देको आमा ) ले सार्वजनिक भएको भिडियोको बिषयमा ब्यङ्ग्यात्मक टिप्पणी गरेका थिए ।

नर बहादुर भण्डारीको शब्दरचना तथा प्रस्तुति रहेको काली वनमा कोयली चरी मा सन्तोष दुमीको सङ्गीत तथा निनाम हाङ राई र मेलिना राईको स्वर रहेको छ । अनामनगरस्थित किङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतका रेकर्डिष्ट सुरेश राई र म्युजिक एरेन्जर राजु कार्की हुन् । प्रकाश धितालको निर्देशन, आशिष राईको कोरियोग्राफी र वुद्ध थापाको सिनेम्याटोग्राफी रहेको यस भिडियोमा नग्मा श्रेष्ठ र गायक समेत रहेका निनाम हाङ राईले अभिनय गरेका छन् । भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । ओ.एस.आर. डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस भिडियोमा गीतकार नर बहादुर भण्डारीलाई  समेत देख्न सकिन्छ ।