डा. केसीको स्वास्थ्य अवस्था नाजुक, सरकारको नियतप्रति गम्भीर प्रश्न

डा. डीआर उपाध्याय


वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीको अनसन जारी छ । उनी अनसन बसेको आज १८ दिन पुग्यो । यतिका दिन हुँदा सम्म पनि उनका माग सरकारले अझै सम्वोधन गरेको छैन । उनले उठाएका माग सम्वोधन नभए सम्म अनसन तोड्ने पक्षमा उनी छैनन् । बेला बेलामा अनसन बसि उनी चर्चामा आउने गर्दछन् । उनले देशको चिकित्सा शिक्षामा बढ्दो बेथितिविरुद्ध ‘सत्याग्रह’ गदै आएका छन् । डा. केसीले सत्याग्रह थालेयता धेरै सरकार बन्ने र फेरिने गरे । बिगतका सरकारका पालामा पनि सहमति, सम्झौता भए तर सहमति, सम्झौता कार्यान्वयन भएनन् । जसले गर्दा उनी पटक पटक अनसन बसे । बिगतमा पनि उनको सत्याग्रह रोकिएन । अहिले यो उनको १९औं अनशन हो । उनी अहिले शिक्षण अस्पतालमा जीवनसँग संघर्ष गरिरहेका छन् । उनको जीवन रक्षाका लागि सोच्ने बेला आएको छ । जीवन तलमाथि भयो भने को जिम्मेवार हुन्छ ? उनको यो अनसन भदौ २९ गते जुम्लाबाट सुरु भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई त्यहाँबाट काठमाडौं ल्याइयो । अहिले उनी शिक्षण अस्पतालमा छन् । तर उनको समर्थनमा देशका विभिन्न ठाउँमा प्रदर्शन भईरहेका छन् । काठमाडौंको माईतीघर लगायतका स्थानमा दिनदिनै प्रदर्शन भइरहेका हुन्छन् । विगतका सरकारले चौतर्फी दबाब बढेपछि उनीसँग वार्ता गर्न बाध्य हुन्थ्यो । त्यसपछि सहमति गरेर अनशन तोडिन्थ्यो । सहमति भने कार्यान्वयन हुँदैनथ्यो । समस्या यो थियो । अहिले पनि सरकारले अनशनलाई बेवास्ता गरिरहेको संकेत देखिन्छ ।

डा. केसी निःस्वार्थ रुपमा चिकित्सा सेवामा खट्ने व्यक्ति हुन् । उनलाई ब्यक्तिगत लोभ, लालच केही छैन । उनले सामान्य जीवन बिताउन रुचाउँछन् । उनले सरकारी सेवामा रहँदै पनि गाउँगाउँ पुगेर आफनो निजी खर्चमा विपन्न जनताको सेवा गर्दथे । उनी सेवाबाट निवृत्त भएपछि पनि विपन्न जनताको सेवा गर्न पछि हटेका छैनन् । डा. केसीको अनसनले यतिबेला सरकार सामु गम्भीर प्रश्न उठेको छ ।

डा. केसीको आन्दोलन आफनो ब्यक्तिगत स्वार्थका लागी होइन । उनको स्वार्थ भनेको सर्वसुलभ स्वास्थ्य सेवा हो, व्यवस्थित गुणस्तरीय पठनपाठन हो, चिकित्सा क्षेत्रमा देखिएको माफियाको बिरुद्ध हो । यो कुरा किन सर्वहारा जनताको नेतृत्व गर्ने सरकारले बुझदैन ? डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ । राज्यले उनको जायज माग र स्वास्थ्यप्रति कुनै चासो नराख्नु अमानवीयता हो ।