‘कार्टुन क्रिउ’को आकर्षक डान्समा डीआरको ‘छक्कै परें’

विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको नयाँ गीत छक्कै परें… को भिडियो सार्वजनिक भएको छ । विष्णु भट्ट र बिना भट्टराईको स्वर, विष्णुकै सङ्गीत तथा मोहित मुनालको एरेञ्ज रहेको यो गीतको भिडियो एकदिन अघि DR Music & Creations बाट सार्वजनिक भएको हो । गीतमा किरण विश्वकर्माको रेकर्डिङ तथा श्यामश्वेत रसाइलीको मिक्सिङ/माष्टिरिङ रहेको छ ।

माइकल चन्दको निर्देशन रहेको यस भिडियोमा कार्टुन क्रिउ का सरोज अधिकारी र आस्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । भिडियोमा उत्सव दाहालको छायाङ्कन र शिलन लम्सालको सम्पादन रहेको छ ।

गीत जति राम्रो छ भिडियो पनि त्यत्तिकै उत्कृष्ट बनेको छ । ‘हामीले निक्कै मेहेनत गरेर एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौं l  सबैको साथ सहयोग पाउने कुरामा आशावादी छौं’ । मेरा अन्य गीतलाई जस्तै यसलाई पनि माया गरिदिनुहोला’ गीतकार डी.आर.ले भने ।

डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र ‘सपनाकी रानी’ जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । गीत लेखेर डा. उपाध्यायले बिभिन्न १५ वटा विश्व रकेर्ड राखेका छन् ।