‘एल्बम निकाल्नकै लागि अमेरिकाबाट आएँ’ – प्रेम खड्का

तुलसी गिरी ‘भावुक’

अग्रज गायक प्रेम खड्काको लोक शैलीको गीति एल्बम ‘डी. भी. चिट्ठा’ सार्वजनिक भएको छ l एल्बममा ‘गर्नु गर्यो अमेरिकन चिट्ठाले’, ‘इलामे जिल्ला अलैंची अदुवा’, ‘ल्हासाको बजार’, ‘सुरती ठुटो खाउँ भने जुठो’ र ‘यो वर्षा मासको’ गरी पाँचवटा गीत रहेका छन् l जसमध्ये चारवटा प्रेम खड्काकै रचना हुन् भने एउटा गीत मिना दुङ्गानाले लेखेकी हुन् l एल्बममा चारवटा युगल र एउटा एकल स्वरका गीत रहेका छन् l युगल गीतमा प्रेमलाई राधा राई, श्रेयशी चेम्जोङ लिम्बू र मिना ढुङ्गानाले स्वरमा साथ दिएका छन् l

डी. भी. चिट्ठा परेर लगभग दुईबर्ष अघि मात्र अमेरिकातिर लागेका सर्जक / कलाकार प्रेम खड्का भर्जिनियामा पसिना बगाईरहेका छन् l यसपटकको यात्रा नित्तान्त सङ्गीतसँग सम्बन्धित भएको कुरा उनले जानकारी गराए l ‘यसपटक म एल्बम निकाल्नकै लागि भनेर नेपाल आएको हुँ l लोकलयको एउटा र अर्को भजन गरी दुईवटा एल्बमको तयारी गरिरहेका प्रेम यो पङ्क्तिकारसँग भेट हुँदा समय अभावका कारण भजन एल्बमको अन्तिम केही काम थाँती राखेर जन्मथलो इलाम जाने हतारोमा थिए l ‘भजन एल्बमको काम चाहिं इलामबाट फर्किएर अमेरिका फर्कनु अघि पूरा गर्ने सोचमा छु’ उनले भने l ‘डी. भी. चिट्ठा’ मा शिला बहादुर मोक्तान र कुमार थापाको सङ्गीत संयोजन रहेको छ भने प्रकाश खरेल र मिन विष्टले मिक्सिङ गरेका हुन् l जन्मथलो पुगेका बेला एल्बमको २ नम्बरमा रहेको गीत ‘इलामे जिल्ला अलैंची अदुवा’ को भिडियो उतै निर्माण गर्ने योजनामा रहेका गीतकार तथा गायक प्रेम ४ नम्बरमा रहेको गीत ‘सुरती ठुटो खाउँ भने जुठो’ को चाहिं तत्कालका लागि लिरिकल भिडियो बनाउने सोचमा छन् l

प्रेम खड्का नेपाली सङ्गीत क्षेत्रको लागि नयाँ नाम हैन l भरखरै एसएलसी पास गरेर कलेज पढ्दैगर्दा २०३२ सालमै उनले ‘सिन्दुर दिउँला पोते दिउँला’ बोलको गीत रेकर्ड गराएका थिए l भलै उनका गीत अहिले रेडियो नेपालले कम बजाउला, नयाँ पुस्ताले उनलाई नचिन्ला तर उनले हालसम्म नेपाली सङ्गीत भण्डारलाई लगभग २ सय ५० गीत दिईसकेका छन् l २०४२ सालमा पहिलोपटक ‘जुनेली रात’ शीर्षकको एल्बम प्रकाशन गरेका सर्जक / कलाकार प्रेम खड्काले सङ्घर्षका सुरुआती दिनदेखि नै आफैं गीत लेख्ने र त्यसमा लय भर्ने गर्दथे l उनले आफ्ना अधिकांश गीतमा आफैं शब्द तथा लय सिर्जना गरेका छन् l ‘जुनेली रात’ पछि ‘लाँकुरी छाया’, ‘रातो पछ्यौरी’, ‘हिउँदे सिमीलाई’, ‘सहिदको सपना’, ‘फूल फुल्यो नासपाती’, ‘मङ्सिर मैना’, ‘प्राणायाम’ लगायत गरी लगभग १ दर्जन एल्बम प्रकाशन गरिसकेका प्रेमको मुख्य विधा लोकगीत भएपनि वरिष्ठ सङ्गीतज्ञ नरराज ढकालसँग ६ बर्षसम्म शास्त्रीय सङ्गीत सिकेका  उनले आधुनिक, राष्ट्रिय र भजनहरुमा समेत स्वर दिएका छन् l रेडियो नेपालका ‘क’ श्रेणीका गायक प्रेम खड्का योगा प्रशिक्षक समेत हुन् l धेरैबर्ष अघिदेखि योगप्रति जिज्ञाशु र योगअभ्यास समेत गर्दै आएका प्रेमले नेपाल र भारतको हरिद्वारमा योगको स्पेशल तालिम लिएका थिए भने अमेरिका जानु अघि पतंजली अन्तर्गत योग प्रशिक्षक भएर ४ महिना योगा समेत सिकाएका थिए l ‘म त अहिलेपनि नियमित योग गर्छु l योग नगरे त शरीर नै फ्रेश हुन्न’ उनले भने l अहिले पनि उत्तिकै मीठो स्वरमा गीत गाउने प्रेम खड्का संसारको जुनसुकै कुनामा बसेपनि नेपाली लोकलयलाई आफ्नो जीवनकै एउटा अभिन्न पाटो ठान्ने गर्दछन् l